रुकुम पश्चिम । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं सरकारका प्रवक्ता कल्याणी खड्काले रुकुम पश्चिमलाई समग्र रूपमा पर्यटकीय हबका रूपमा विकास गर्न तथ्यांक, अध्ययन र दीर्घकालीन योजनाका आधारमा काम गर्नुपर्ने बताएकी छन्।
मुसिकोट नगरपालिका–१३ ले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री खड्काले जिल्लाको उद्योग, पर्यटन, वन तथा पूर्वाधार क्षेत्रको वास्तविक अवस्था पहिचान गरी स्थानीय आवश्यकताका आधारमा योजना बनाउनुपर्ने बताइन्।
उनले जिल्लामा दर्ता तथा नवीकरण भएका उद्योगको संख्या, उद्योगको प्रकृति, साना, मझौला तथा ठूला उद्योगको अवस्था र रोजगारी सिर्जनालगायतका विषयको यथार्थ तथ्यांक तयार गर्न स्थानीय तहलाई आग्रह गरिन्। तथ्यांकबिना बनाइने नीति तथा कार्यक्रम प्रभावकारी नहुने उनको भनाइ थियो।
मन्त्री खड्काले रुकुम पश्चिममा पर्यटनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै वडा–वडामा रहेका पर्यटकीय तथा धार्मिक स्थलको पहिचान गरी व्यवस्थित रूपमा विकास गर्नुपर्ने बताइन्। मुसिकोट–१३ का डाँडा छिबाङ, मण्डली, थान, थानचौर तथा बराह मन्दिर लगायतका क्षेत्रलाई पर्यटनसँग जोड्न आवश्यक अध्ययन र पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरिन्।
वन क्षेत्रसँग जोडिएका पर्यटकीय स्थलमा भने तत्काल संरचना निर्माण गर्नुभन्दा पहिले नक्सांकन, वन क्षेत्रको अवस्था, कानुनी प्रावधान र सम्भाव्यता अध्ययन आवश्यक रहेको उनले स्पष्ट पारिन्। यस्ता विषयमा मन्त्रालयबाट आवश्यक अध्ययन गरी स्थानीय तहसँग समन्वय गर्ने उनको भनाइ थियो।
मन्त्री खड्काले सम्भाव्यता अध्ययनबिनै संरचना निर्माण गर्दा राज्यको ठूलो लगानी खेर जान सक्ने भन्दै विकास निर्माणमा जोखिम र भविष्यको अवस्थासमेत मूल्यांकन गर्न स्थानीय सरकारलाई आग्रह गरिन्। प्राकृतिक विपद्का घटनाबाट पाठ सिक्दै सुरक्षित बस्ती, पूर्वाधार र सार्वजनिक संरचना निर्माणमा ध्यान दिनुपर्ने उनले बताइन्।
पर्यटन विकासका लागि होमस्टे, होटल, यातायात र स्थानीय आतिथ्य संस्कृतिलाई पर्यटकमैत्री बनाउनुपर्ने मन्त्री खड्काको भनाइ थियो। स्थानीय कला, संस्कृति र सभ्यतालाई पर्यटनको आकर्षणसँग जोड्दै आगन्तुकलाई सुरक्षित र सहज वातावरण दिन सके मात्रै पर्यटनबाट स्थानीय अर्थतन्त्र बलियो बन्ने उनले बताइन्।
त्यस्तै, उनले कृषि, उद्योग तथा अन्य क्षेत्रमा वैज्ञानिक प्रविधिको प्रयोग बढाउनुपर्ने बताउँदै स्थानीय तहले आफूलाई आवश्यक प्रविधिको पहिचान गरी आधुनिकीकरणतर्फ अघि बढ्नुपर्नेमा जोड दिइन्।
लामो समयदेखि सञ्चालनमा आउन नसकेका उद्योग तथा सहकारीको अवस्थासमेत समीक्षा गर्नुपर्ने बताउँदै मन्त्री खड्काले अनुदानलाई उत्पादन, रोजगारी र परिणामसँग जोड्नुपर्ने स्पष्ट पारिन्। अनुदान लिएर प्रभावकारी काम नगर्ने प्रवृत्तिको अन्त्य गर्न आवश्यक रहेको उनको भनाइ थियो।
स्थानीय तहमा देखिएका बेथिति न्यूनीकरण गर्न जनप्रतिनिधि र कर्मचारी जिम्मेवार हुनुपर्ने बताउँदै उनले राम्रो काम गर्नेलाई प्रोत्साहन र गलत काम गर्नेलाई कानुनअनुसार कारबाहीको व्यवस्था हुनुपर्ने बताइन्।
“स्थानीय तह राम्रो भयो भने जिल्ला राम्रो हुन्छ र जिल्ला राम्रो भयो भने प्रदेशकै प्रतिष्ठा बढ्छ,” मन्त्री खड्काले भनिन्, “स्थानीय तहका समस्या समाधान गर्न प्रदेश सरकार तयार छ। शिक्षा, स्वास्थ्य र खानेपानीजस्ता आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर स्थानीय सरकारसँग सहकार्य गर्दै अघि बढ्छौँ।”
उनले स्थानीय तहबाट प्राप्त सुझावलाई मार्गदर्शनका रूपमा लिएर प्रदेश सरकारका नीति तथा कार्यक्रम अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरिन्।







