अपडेट

युवा मानव अधिकार रक्षकको सुरक्षा र क्षमता अभिवृद्धिमा जोड दिँदै पाँचदिने तालिम अन्तिम चरणमा

  ।   ३ मंसिर २०८३, बुधबार २१:०६

सुर्खेत । मानव अधिकारको संरक्षण, संवर्द्धन तथा मानव अधिकार उल्लङ्घनका घटनाको निगरानी र खबरदारीमा सक्रिय युवा मानव अधिकार रक्षकहरूको क्षमता अभिवृद्धि तथा समग्र सुरक्षा सुदृढ गर्ने उद्देश्यले सञ्चालन गरिएको पाँचदिने तालिम अन्तिम चरणमा पुगेको छ।

ग्रामीण युवा अभियान नेपाल ९रोयम नेपाल० को आयोजना, राष्ट्रिय मानव अधिकार आयोगको सहकार्य तथा ब्भ्क्ष्ल् को सहयोगमा सञ्चालन भइरहेको ‘युवा मानव अधिकार रक्षकका लागि समग्र सुरक्षा क्षमता अभिवृद्धि तालिम’ चौथो दिनसम्म आइपुगेको हो। कार्तिक २९ देखि मङ्सिर ५ गतेसम्म सञ्चालन हुने तालिममा कर्णाली प्रदेशका १० वटै जिल्लाबाट प्रत्येक जिल्लाका दुई जनाका दरले युवा मानव अधिकार रक्षकहरूको सहभागिता रहेको छ।

तालिममा मानव अधिकारको आधारभूत अवधारणा, मानव अधिकार रक्षकको भूमिका तथा जिम्मेवारी, मानव अधिकार उल्लङ्घनका घटनाको पहिचान, अनुगमन, तथ्य सङ्कलन, दस्तावेजीकरण र प्रतिवेदन लेखनजस्ता विषयमा प्रशिक्षण प्रदान गरिएको छ।

त्यसैगरी, मानव अधिकार रक्षकहरूले कार्यक्षेत्रमा सामना गर्नुपर्ने शारीरिक, सामाजिक, कानुनी तथा डिजिटल जोखिमको पहिचान र विश्लेषण, व्यक्तिगत तथा संस्थागत सुरक्षा योजना निर्माण, डिजिटल सुरक्षा, सूचना संरक्षण, महिला मानव अधिकार रक्षकका सवाल तथा संरक्षणका उपाय, मनोसामाजिक सुरक्षा, आत्महेरचाह र संकट व्यवस्थापनका विषयलाई समेत तालिममा प्राथमिकता दिइएको छ।

तालिमलाई सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी व्यवहारिक तथा सहभागीमूलक बनाइएको छ। समूहकार्य, घटना अध्ययन, भूमिकाअभिनय, जोखिम विश्लेषण, डिजिटल सुरक्षा अभ्यास तथा सुरक्षा योजना निर्माणमार्फत सहभागीहरूलाई सिकेका ज्ञान र सीप व्यवहारमा उतार्ने अवसर प्रदान गरिएको छ।

आयोजक रोयम नेपाल कर्णाली प्रदेश संयोजक सन्तोष बि. क. का अनुसार मानव अधिकार रक्षकहरूले आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा विभिन्न प्रकारका धम्की, दबाब, दुर्व्यवहार तथा अन्य जोखिम सामना गर्नुपर्ने भएकाले उनीहरूको व्यक्तिगत, संस्थागत, डिजिटल र मनोसामाजिक सुरक्षालाई सुदृढ बनाउनु तालिमको मुख्य उद्देश्य रहेको छ।

पाँचौँ तथा अन्तिम दिन भोलि सहभागीहरूको सिकाइ मूल्याङ्कन, समग्र सुरक्षा अभ्यास, व्यक्तिगत तथा संस्थागत कार्ययोजना निर्माण, तालिम म्यानुअल समीक्षा र आगामी कार्यप्रतिको प्रतिबद्धतासहित तालिम समापन गरिने कार्यक्रम रहेको छ।

तालिम सम्पन्न भएपछि युवा मानव अधिकार रक्षकहरू मानव अधिकार उल्लङ्घनका घटनाको प्रभावकारी अनुगमन तथा दस्तावेजीकरण गर्न, सम्भावित जोखिम पहिचान र न्यूनीकरण गर्न तथा संकटपूर्ण अवस्थामा सुरक्षित प्रतिक्रिया दिन थप सक्षम हुने अपेक्षा गरिएको छ।

मानव अधिकार संरक्षणका लागि अग्रपङ्क्तिमा रहेर काम गर्ने रक्षकहरू स्वयं सुरक्षित र सक्षम हुनुपर्ने मान्यतालाई आत्मसात् गर्दै सञ्चालन गरिएको यस तालिमले कर्णाली प्रदेशमा मानव अधिकार संरक्षणको अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

सम्बन्धित शीर्षक