अपडेट

कर्णालीका १० जिल्लाका युवा मानव अधिकार रक्षकलाई पाँचदिने समग्र सुरक्षा तालिम

  ।   ३० कार्तिक २०८३, आईतवार १४:२९

सुर्खेत । युवा मानव अधिकार रक्षकहरूको क्षमता अभिवृद्धि तथा व्यक्तिगत, संस्थागत, डिजिटल र मनोसामाजिक सुरक्षा सुदृढ गर्ने उद्देश्यले पाँचदिने समग्र सुरक्षा क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको छ।

ग्रामीण युवा अभियान नेपाल (रोयम नेपाल) को आयोजना, राष्ट्रिय मानव अधिकार आयोगको सहकार्य तथा AEIN को सहयोगमा कार्तिक  २९ देखि मङ्सिर  ३ गतेसम्म सञ्चालन हुने तालिममा कर्णाली प्रदेशका १० वटै जिल्लाबाट प्रतिनिधिमूलक सहभागिता रहेको छ। प्रत्येक जिल्लाबाट दुई जनाका दरले युवा मानव अधिकार रक्षकहरू सहभागी भएका छन्।

तालिमबारे जानकारी दिँदै रोयम नेपालका कर्णाली प्रदेश संयोजक सन्तोष वि।क।ले मानव अधिकार संरक्षण, संवर्द्धन तथा मानव अधिकार उल्लङ्घनका घटनामा निगरानी र खबरदारी गर्ने क्रममा मानव अधिकार रक्षकहरूले विभिन्न जोखिम तथा चुनौती सामना गर्नुपर्ने भएकाले उनीहरूको सुरक्षा र क्षमता विकासलाई प्राथमिकतामा राखेर तालिम आयोजना गरिएको जानकारी दिए।

पाँच दिनसम्म सञ्चालन हुने तालिममा मानव अधिकार र मानव अधिकार रक्षकको भूमिका तथा जिम्मेवारी, मानव अधिकार उल्लङ्घनका घटनाको पहिचान र अनुगमन, तथ्य सङ्कलन तथा दस्तावेजीकरण, जोखिम विश्लेषण, व्यक्तिगत तथा संस्थागत सुरक्षा, डिजिटल सुरक्षा, महिला मानव अधिकार रक्षकका सवाल, मनोसामाजिक सुरक्षा र संकट व्यवस्थापनलगायतका विषयमा प्रशिक्षण दिइनेछ।

त्यसैगरी, सहभागीहरूलाई व्यावहारिक अभ्यास, घटना अध्ययन, समूहकार्य, भूमिकाअभिनय तथा सुरक्षा योजना निर्माणमार्फत सिकेका ज्ञान र सीपलाई कार्यक्षेत्रमा प्रयोग गर्न सक्षम बनाउने लक्ष्य राखिएको छ।

तालिमबाट युवा मानव अधिकार रक्षकहरूलाई सम्भावित जोखिम पहिचान तथा न्यूनीकरण गर्न, संकटपूर्ण अवस्थामा सुरक्षित प्रतिक्रिया दिन र व्यक्तिगत एवं संस्थागत सुरक्षा योजना निर्माण गरी कार्यान्वयन गर्न सक्षम बनाउने बिश्वास गरिएको आयोजकले जनाएको छ।

मानव अधिकारको संरक्षणमा सक्रिय युवा रक्षकहरूको सुरक्षा, क्षमता विकास र प्रभावकारी परिचालनमा तालिमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

Next Post

२४ घण्टामा सवारी दुर्घटनामा ६ जनाको मृत्यु, १४९ जना घाइते

३० कार्तिक २०८३, आईतवार १४:२९
सुर्खेत । कात्तिक २८ को पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने १४९ जना घाइते भएका छन्। नेपाल प्रहरीका अनुसार तनहुँ, नुवाकोट, झापा, उदयपुर, बर्दिया र बाँकेलगायत जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा मानवीय क्षति भएको हो। दुर्घटनामा मोटरसाइकल, कार तथा अन्य […]

सम्बन्धित शीर्षक