दैलेख । दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा जीप दुर्घटना हुँदा कालिकोटका एक जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–६ निवासी ४१ वर्षीय रने सार्की रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बिहान ८ः५६ बजे मृत्यु भएको हो।
प्राप्त विवरणअनुसार आज बिहान ५ः३० बजे कालिकोटबाट विषादी सेवन गरेकी बिरामीलाई अक्सिजन सिलिन्डरसहित उपचारका लागि सुर्खेत लैजाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो।
दुर्घटनामा जीप चालक सान्नीत्रिवेणी गाउँपालिका–७ निवासी २२ वर्षीय योगेश सिंखडा, सोही ठाउँका १८ वर्षीय गंग सार्की र २१ वर्षीय तपेन्द्र सिंखडा गम्भीर घाइते भएका छन्।
त्यस्तै, सान्नीत्रिवेणी गाउँपालिका–६ निवासी ३६ वर्षीया जादुकाल सार्की र २७ वर्षीया कैसि सार्की पनि गम्भीर घाइते भएका छन्। कैसि सार्की विषादी सेवन गरेपछि उपचारका लागि सुर्खेत लैजाँदै गरिएकी बिरामी रहेको बताइएको छ।
दुर्घटनापछि सबै घाइतेको तत्काल उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







