सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ५५ जना पक्राउ परेका छन्।
विशेष सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी गण सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेत र इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको संयुक्त प्रहरी टोलीले विभिन्न स्थानमा खानतलासी गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूको साथबाट जुवाखालमा रहेको नेपाली रुपैयाँ १२ लाख ३२ हजार ८ सय ४५ र भारतीय रुपैयाँ १३ हजार १ सय २५ बरामद गरिएको छ। भारतीय रुपैयाँलाई नेपाली रुपैयाँमा रूपान्तरण गर्दा करिब २१ हजार रुपैयाँ हुने भएकाले बरामद कुल रकम १२ लाख ५३ हजार ८ सय ४५ रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
त्यसैगरी, जुवाखालबाट ५२ पत्तिको ५३ गड्डी ताससमेत बरामद गरिएको छ।
पक्राउ परेका ५५ जनामाथि जुवातास खेल्ने तथा सट्टेबाजी गर्न नहुने कसुरसम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






