साउन १५ : संस्कृति, स्वास्थ्य र स्वादको मीठो संगम — खीर खाएर मनाइँदै ‘खीर दिवस’

  ।   १५ श्रावण २०८२, बिहीबार ०९:३३

सुर्खेत। नेपाली समाजमा आजको दिन विशेष रूपमा खीर खाएर मनाइँदैछ। प्राचीन परम्पराअनुसार वर्षा ऋतुका विशिष्ट दिनहरू, जस्तै असार १५ मा दही(च्यूरा र साउन १५ मा खीर खाएर सांस्कृतिक उत्सव मनाउने परिपाटी छ।
खीर, जसलाई संस्कृतमा ‘पायस’ भनिन्छ, शुद्ध र सात्विक आहारको रूपमा वैदिक धर्मशास्त्रमा वर्णन गरिएको छ। यही कारणले गर्दा यो परिकार देवपुजा र पितृकार्यमा समेत अनिवार्य रूपमा अर्पण गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष तथा धर्मशास्त्रविद् प्रा।डा। रामचन्द्र गौतमका अनुसार, खीरको धार्मिक र सामाजिक महत्त्व गहिरो छ।

उहाँका अनुसार, साउन महिनामा खेतीपाती प्रायः सम्पन्न भइसकेको हुन्छ, खेत(बारीमा हरियाली चहकिएको हुन्छ, र गाईभैँसीले प्रशस्त दूध दिने गर्छन्। यस्तै समयमा दाजुभाइ, इष्टमित्र र छोरीचेलीलाई घरमा बोलाएर खीर पकाएर खुवाउने चलन बसेको हो। दूध, चामल, चिनी र मरमसलाले बनेको खीर स्वास्थ्यका दृष्टिले पनि लाभदायक मानिन्छ।

धार्मिक मान्यताअनुसार, साउन भगवान् शिवको प्रिय महिना हो। शिवलाई दूध तथा दूधबाट बनेका परिकारहरू चढाउने परम्परा छ। सम्भवतः यही धार्मिक भावना र ऋतुचक्रको मेलले साउन १५ मा खीर खाने परम्परा अझ गहिरो रूपमा स्थापित भएको हो। यद्यपि, यो चलनको सीधा शास्त्रीय प्रमाण नभएको गौतम बताउँछन्।

ऋषिमुनिको समयदेखि नै पायस अर्थात् खीर पितृकार्यमा महत्वपूर्ण परिकारको रूपमा प्रयोग हुँदै आएको छ। आज पनि श्राद्धमा गाईको दूधबाट बनेको खीर अनिवार्य परिकार मानिन्छ।

खीर बनाउने सामग्रीहरूमा पनि विविधता पाइन्छ। चामल, सेवई, गाजर, मकै, सावधाना आदिबाट विभिन्न स्वाद र बनावटको खीर बनाइन्छ। साउनमा हरियो मकै प्रशस्त पाइने भएकाले मकैको खीरको पनि विशेष लोकप्रियता रहेको छ। ‘नेपाली बृहत् शब्दकोश’ अनुसार, दूधमा पकाइएको चामल वा भातमा चिनी र मसला हालेर तयार पारिएको मीठो खाद्यपदार्थलाई खीर भनिन्छ।

नेपाली लोक परम्परामा हरेक महिनाको १५ गते कुनै न कुनै विशेष परिकार खाने र नातेदार, छोरीचेली, मित्रजनलाई बोलाएर सँगै बाँड्ने संस्कार जिवित छ। असार १५ मा दही(च्यूरा, साउन १५ मा खीर, भदौ १५ मा पोलेको मकै, पुस १५ मा घ्यू(खट्टे, र माघ १५ मा मालपुवा आदि खाएर मनाइन्छ।

यही परम्परालाई सशक्त बनाउँदै, राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ लाई ‘खीर दिवस’ को रूपमा समेत मनाउँदै आएको छ। साउन १५ केवल मिठो खीर खानेको दिन मात्र होइन, यो दिन हाम्रो सांस्कृतिक जरा, स्वास्थ्यप्रद परिकार र पारिवारिक समेटिने एउटा मीठो अवसर हो।

 

 

 

 

 

 

Next Post

जाजरकोट–जुम्ला सडकको कालोपत्रे अन्तिम चरणमा, दशकपछि पूर्वाधारले गति लिँदै

१५ श्रावण २०८२, बिहीबार ०९:३३
सुर्खेको। जाजरकोटको गैरीखालीदेखि जुम्लासम्म जोडिने सडक अब कालोपत्रे हुँदै समापनको चरणमा पुगेको छ। करिब एक दशकअघि ट्र्याक निर्माण गरिएको यो महत्वपूर्ण सडक खण्ड अहिले पुर्ण स्तरोन्नतिका लागि अन्तिम तयारीमा छ। २० किलोमिटर लम्बाइको जाजरकोट–पाँचकाटिया खण्डमा हालसम्म १६ किलोमिटर सडकमा सुधार कार्य भइरहेको छ। पाँचकाटियादेखि खुर्पासम्मको करिब १० किलोमिटर सडकमा कालोपत्रे […]