अपडेट

जाजरकोट–जुम्ला सडकको कालोपत्रे अन्तिम चरणमा, दशकपछि पूर्वाधारले गति लिँदै

  ।   १५ श्रावण २०८२, बिहीबार १४:३५

सुर्खेको। जाजरकोटको गैरीखालीदेखि जुम्लासम्म जोडिने सडक अब कालोपत्रे हुँदै समापनको चरणमा पुगेको छ। करिब एक दशकअघि ट्र्याक निर्माण गरिएको यो महत्वपूर्ण सडक खण्ड अहिले पुर्ण स्तरोन्नतिका लागि अन्तिम तयारीमा छ। २० किलोमिटर लम्बाइको जाजरकोट–पाँचकाटिया खण्डमा हालसम्म १६ किलोमिटर सडकमा सुधार कार्य भइरहेको छ। पाँचकाटियादेखि खुर्पासम्मको करिब १० किलोमिटर सडकमा कालोपत्रे सम्पन्न भइसकेको सडक डिभिजन कार्यालय चौरजहारीले जनाएको छ।

गैरीखालीदेखि दारखोला खण्डसम्मको ६ किलोमिटर सडक स्तरोन्नतिको जिम्मा वज्र ग्रुपले पाएको हो। २०७८ सालको भदौ १८ गते ८ करोड २७ लाख रुपैयाँमा ठेक्का पाएको यो कम्पनीलाई हाल २०८२ चैत ३० सम्मको समय थप गरिएको छ। त्यस्तै, दारखोला–पाँचकाटिया खण्डको १६ किलोमिटर सडक स्तरोन्नतिको लागि बानियाँ सिंह एन्ड ब्रदर्स बानियाँ जेभीसँग २०७८ चैत १८ मा २४ करोड ६७ लाख रुपैयाँमा सम्झौता भएको थियो। बजेट अभावका कारण दुईपटक म्याद थपिँदै २०८२ चैत ८ सम्मका लागि समय दिइएको छ। हाल निर्माण तीव्र गतिमा अगाडि बढिरहेको छ।

पाँचकाटिया–ब्याउलीढुङ्गा खण्डको १० किलोमिटर सडक निर्माणको जिम्मा ओएसिस इन्जिनियर्स एन्ड बिल्डर्स प्रालिले लिएको हो। कम्पनीले २०७८ माघ २८ मा ३५ करोड १५ लाख २५ हजार रुपैयाँमा ठेक्का पाएको थियो। सम्झौताअनुसार निर्माण कार्य २०८२ साउन २७ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख इन्जिनियर तेजस्वी शर्माका अनुसार, सरकारले तोकेको मापदण्डअनुसार कालोपत्रेको काम अघि बढिरहेको छ। उनका अनुसार, कम लागतमा राम्रो नतिजा दिने उद्देश्यसहित पहाडी क्षेत्रमा डिबिएसपी  प्रविधिको प्रयोग गरिएको हो।

यद्यपि केही दिनअघि सामाजिक सञ्जालमार्फत सडक निर्माणको गुणस्तरप्रति प्रश्न उठेपछि सरोकारवाला निकायले संयुक्त अनुगमनसमेत गरिसकेको छ।

झण्डै दस वर्षअघि शुरु गरिएको यो सडक आयोजनाले अब ठोस रूप लिँदैछ। कालोपत्रेपछि जाजरकोट–जुम्ला सडक न केवल आवागमनमा सहजता ल्याउनेछ, यसले आर्थिक, सामाजिक र पर्यटकीय क्षेत्रमा समेत नयाँ सम्भावनाहरूको ढोका खोल्ने अपेक्षा गरिएको छ।

 

 

 

 

Next Post

महिला टी–२० विश्वकपको ग्लोबल छनोट पहिलोपटक नेपालमा, १० राष्ट्र भिड्ने तयारी

१५ श्रावण २०८२, बिहीबार १४:३५
सुर्खेत । सन् २०२६ मा इंग्ल्याण्ड र वेल्समा आयोजना हुने महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट प्रतियोगिता नेपालमा हुने पक्का भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (ICC) ले बिहीबार नेपाललाई ग्लोबल छनोटको आयोजक राष्ट्रका रूपमा घोषणा गरेको हो। ग्लोबल छनोट प्रतियोगिता २०८३ माघ २८ देखि फागुन १९ गतेसम्म  (January 12, February […]