दैलेख। घरभित्रको सामान्य विवादले उग्र रूप लिँदा दैलेखमा एकै परिवारका चार जना बन्चरो प्रहारबाट गम्भीर घाइते भएका छन्। आफ्नै श्रीमानले श्रीमती र तीन छोराछोरीमाथि बन्चरो प्रहार गर्दा परिवारका चारै जना गम्भीर घाइते भएका हुन्।
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–३, पानिखोलाका ३८ वर्षीय अम्बर सलामी मगरले बुधबार बिहान घरायसी विवादका क्रममा आफ्नै परिवारका सदस्यहरूमाथि दाउरा काट्ने बन्चरो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
प्रहरीका अनुसार अम्बरले ३५ वर्षीया श्रीमती मनिषा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र, ६ वर्षीय छोरा मिलन र ३ वर्षीया छोरी करिस्माको टाउकोमा बन्चरो प्रहार गरेका थिए।
अचानक भएको आक्रमणबाट घाइते चारै जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई तत्काल एम्बुलेन्समार्फत उपचारका लागि दुल्लु अस्पताल पुर्याइएको छ।
घटनामा संलग्न अम्बरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षक सरोज कँडेलको कमान्डमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो।
घटनाको कारण, परिस्थित र घटनासम्बन्धी अन्य विवरणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।






