अपडेट

मुगुमा हाईलक्स जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते

  ।   ३० कार्तिक २०८३, आईतवार १९:२९

मुगु । मुगुको छायानाथ रारा नगरपालिका–७ टोप्लास्थित ताल्चा–रारा कच्ची सडक खण्डमा हाईलक्स जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाईलक्स जिप शनिबार अचानक सडकबाट करिब ६०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

दुर्घटनामा परी काठमाडौंका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको हो। उनीहरूलाई उद्धार गरी जिल्ला अस्पताल मुगु पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा ललितपुर महानगरपालिका–१५ निवासी ५४ वर्षीया अन्जु थापा र जिप चालक ५८ वर्षीय कञ्चन थापा घाइते भएका छन्। दुवै जनाको अवस्था मध्यम रहेको र जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी नायव उपरीक्षक रविराज थपलियाको कमान्डमा जिल्ला प्रहरी कार्यालय मुगुबाट १० जना र ताल्चास्थित प्रहरी टोलीबाट प्रहरी नायव निरीक्षक डम्बरबहादुर अधिकारीको कमान्डमा सात जना गरी १७ जनाको प्रहरी टोली उद्धारमा खटिएको हो।

जिपमा चालकसहित पाँच जना सवार रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ भने चालकले मादक पदार्थ सेवन गरेरनगरेको विषयमा समेत अनुसन्धान भइरहेको छ।

सम्बन्धित शीर्षक