अपडेट

कर्णाली प्रदेशस्तरीय युवा जलवायु सम्मेलनमा मन्त्री खड्काको जलवायु न्यायका लागि युवाको नेतृत्वमा जोड

  ।   २० कार्तिक २०८३, बिहीबार १४:४७

सुर्खेत । ‘जलवायु न्याय सबैको अधिकार, सुरक्षित भविष्य हाम्रो आधार’ भन्ने मूल नाराका साथ वीरेन्द्रनगर, सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय युवा जलवायु सम्मेलन–२०८३ सम्पन्न भएको छ।

सम्मेलनले जलवायु परिवर्तनका बढ्दो असर न्यूनीकरण, वातावरण संरक्षण तथा जलवायु न्याय सुनिश्चित गर्न युवाको अर्थपूर्ण सहभागिता र नेतृत्व आवश्यक रहेको निष्कर्ष निकालेको छ। सम्मेलनबाट जलवायु न्यायसम्बन्धी घोषणापत्रसमेत तयार गरी जारी गरिएको छ।

सम्मेलनको उद्घाटन कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री एवं सरकारका प्रवक्ता कल्याणी खड्काले बिरुवामा पानी सिञ्चन गरेर गर्नुभएको हो।

उद्घाटन सत्रमा सोसेक नेपालका अध्यक्ष मञ्जु कुमारी खड्काले स्वागत मन्तव्य राख्नुभएको हो भने भिडिसेफ नेपालका परियोजना व्यवस्थापक मानबहादुर शाहीले सम्मेलनको उद्देश्यबारे प्रकाश पार्नुभएको हो। मध्यपश्चिम विश्वविद्यालयका सहप्राध्यापक डा। सुदीप ठकुरीले ‘जलवायु परिवर्तन र युवाका मुद्दा स् प्राज्ञिक संस्थाहरूभित्रको प्रवाहीकरण तथा अन्तरघुलन’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको हो।

सम्मेलनमा सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, विकास साझेदार संस्था, पत्रकार, सामाजिक अभियन्ता तथा युवाहरूको सहभागिता रहेको छ। सहभागीबीच जलवायु परिवर्तनका असर, जलवायु न्याय, वातावरण संरक्षण तथा दिगो विकासमा युवाको भूमिकाबारे छलफल, समूहगत संवाद र सरोकारवालाबीच अन्तरक्रिया गरिने छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले जलवायु परिवर्तनका कारण उत्पन्न चुनौती तथा समस्याको समाधानमा युवाहरू सक्रिय रूपमा अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले कर्णाली प्रदेश सरकार युवाहरूको पक्षमा रहेको उल्लेख गर्दै युवाका सिर्जनात्मक सोच, सुझाव र नेतृत्वलाई सरकारले महत्व दिने धारणा व्यक्त गर्नुभयो।

उहाँले कर्णालीको उद्योग, पर्यटन, वन तथा वातावरण क्षेत्रको संरक्षण, प्रवर्द्धन र दिगो विकासमा युवाको भूमिका महत्वपूर्ण हुने बताउँदै सरकारका कामकारबाहीमा आवश्यक सुझाव, खबरदारी र सचेतनामार्फत सहयोग गर्न आह्वान गर्नुभयो।

सम्मेलनमा सहभागी वक्ताहरूले जलवायु परिवर्तनको असर सबैभन्दा बढी जोखिममा रहेका समुदायसम्म पुगिरहेको सन्दर्भमा स्थानीय आवश्यकता र वास्तविकतामा आधारित योजना निर्माण गर्नुपर्नेमा जोड दिएका थिए। साथै, जलवायु अनुकूलन तथा वातावरण संरक्षणका अभियानलाई विद्यालय, विश्वविद्यालय र स्थानीय समुदायसम्म विस्तार गर्नुपर्ने धारणा राखेका थिए।

सम्मेलनले जलवायु न्यायका सवालमा साझा धारणा निर्माण गर्दै सुरक्षित भविष्यका लागि युवा सहभागिता, नेतृत्व र सामूहिक प्रतिबद्धताको सन्देश दिएको छ।

सम्बन्धित शीर्षक