सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्दै पदक जित्ने लक्ष्यसहित तयारीमा जुट्न खेलकुद क्षेत्रका सरोकारवालालाई निर्देशन दिनुभएको छ। उहाँले खेलाडी छनोटदेखि प्रशिक्षणसम्म निष्पक्षता र गुणस्तरमा ध्यान दिन आग्रह गर्दै बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका सन्दर्भमा बसोबास व्यवस्थापन उपसमितिले आइतबार आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले पदक जित्ने क्षमताका खेलाडी छनोट गरी प्रभावकारी तयारीमा केन्द्रित हुन कर्णाली प्रदेश खेलकुद विकास परिषद्लाई आग्रह गर्नुभयो।
‘तपाईंहरू राम्रा खेलाडी छनोट गर्नुस्, निष्पक्ष रूपमा खेलाडी छनोट गर्नुस्, दक्ष प्रशिक्षक ल्याएर पदक जित्ने गरी तयारी गर्नुस्। बजेटको कुनै समस्या हुँदैन। तपाईंहरूले मागेको भन्दा बढी बजेट दिनसमेत प्रदेश सरकार तयार छ,’ उहाँले भन्नुभयो।
मुख्यमन्त्री शाहीले दशौँ राष्ट्रिय खेलकुद कर्णालीका लागि अवसर र चुनौती दुवै भएको उल्लेख गर्दै प्रतियोगितालाई सफल बनाउनुका साथै खेलकुदमा प्रदेशको पहिचान स्थापित गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताउनुभयो। प्रतियोगिता स्थगित हुने आशङ्कामा नपरी तयारीलाई तीव्रता दिनसमेत उहाँले आग्रह गर्नुभयो।
उहाँका अनुसार प्रतियोगिता संघीय सरकारको आयोजनामा हुन लागेको भए पनि यसको व्यवस्थापन र सफल सञ्चालनमा प्रदेश सरकारसहित सबै सरोकारवाला निकायको साझा जिम्मेवारी रहनेछ। सरकारी निकायले मात्रै प्रतियोगिता सफल बनाउन नसक्ने भएकाले निजी क्षेत्र, खेलकुद क्षेत्र, स्थानीय तह र नागरिक समाजबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा सामाजिक विकासमन्त्री जितबहादुर मल्लले कर्णाली प्रदेशको जिम्मेवारीमा रहेका चारवटै उपसमितिले हालसम्म सन्तोषजनक काम गरिरहेको बताउनुभयो। अन्य उपसमितिको प्रगतिबारे पनि चासो राख्दै उहाँले प्रतियोगिता व्यवस्थापनको जिम्मेवारीलाई गम्भीरतापूर्वक लिएर कुनै कसर बाँकी नराखी काम गर्न आग्रह गर्नुभयो।
छलफलमा प्रदेशका प्रमुख सचिव राधिका अर्याल, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, प्रदेश प्रहरी प्रमुख जयराज सापकोटा, होटल व्यवसायी महासंघका पदमबहादुर शाही, तर्कबहादुर शाही तथा नेपाल पत्रकार महासंघका अध्यक्ष मधुवन बिसीलगायतले प्रतियोगिताको व्यवस्थापन, सुरक्षा, आवास र समन्वयका विषयमा सुझाव दिनुभएको थियो।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुँदैछ। प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्नुका साथै पदक तालिकामा समेत उत्कृष्ट नतिजा हासिल गर्ने चुनौती कर्णालीसामु रहेको छ।






