सल्यान । सल्यानको सिद्ध कुमाख गाउँपालिका–२ रातामाटेमा जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन्।
श्रीनगरबाट टाकुरा गाउँतर्फ जाँदै गरेको लु.१ ज २३६८ नम्बरको जिप बिहीबार साँझ करिब ६ः३५ बजे भित्री कच्ची सडकबाट करिब १५० मिटर तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
दुर्घटनामा घाइते भएका १० जनालाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा सिद्ध कुमाख गाउँपालिका–२ का ४२ वर्षीया कृष्णी बस्नेत, ४५ वर्षीया सीता विक र ४३ वर्षीय साउने रोकाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
दुर्घटनामा सोही वडाका २४ वर्षीय देवबहादुर विक, ५८ वर्षीया सुशीला चलाउने, १३ वर्षीया राधिका चलाउने र २२ वर्षीय दीपक रोका घाइते भएका छन्। यस्तै, सिद्ध कुमाख गाउँपालिका–३ का १५ वर्षीय कमल बुढाथोकी र ७ वर्षीया रुपा बुढाथोकी तथा २ – का १० वर्षीय युवराज परियार घाइते भएका छन्।
प्रहरीका अनुसार घाइतेमध्ये देवबहादुर विक र कमल बुढाथोकीको अवस्था गम्भीर रहेको छ। अन्य घाइतेको अवस्था मध्यम रहेको छ। घाइतेमध्ये केहीलाई थप उपचारका लागि दाङ र नेपालगन्ज पठाइएको छ।
दुर्घटनामा संलग्न जिपका चालक ३८ वर्षीय तिलक चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सल्यान पठाएको छ। दुर्घटना हुनुको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।






