सुर्खेत । कर्णाली प्रदेशको समग्र विकास, सुशासन प्रवर्द्धन तथा नागरिकको जीवनस्तर सुधार गर्ने उद्देश्यले कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता कल्याणी खड्काले संघीय सरकारका मन्त्रीहरूसँग भेटवार्ता तथा छलफल गर्नुभएको छ।
सोमबार भएको भेटवार्ताका क्रममा मन्त्री खड्काले कर्णाली प्रदेशको स्वास्थ्य सेवा सुधार, आवश्यक पूर्वाधार विकास तथा नागरिकलाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा संघीय सरकारको ध्यानाकर्षण गराउनुभएको हो।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँगको भेटमा कर्णाली प्रदेशका १० वटै जिल्लाका अस्पतालमा आवश्यक स्वास्थ्य उपकरण, औषधि, स्वास्थ्य सामग्री तथा भौतिक पूर्वाधारको व्यवस्था गर्नुपर्ने विषयमा छलफल भएको छ। साथै, प्रदेश अस्पतालमा मुटु तथा न्युरोसम्बन्धी रोगको उपचार सेवा विस्तार गरी विशेषज्ञ स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने आवश्यकताबारे पनि ध्यानाकर्षण गराइएको छ।
कर्णालीका नागरिकले सामान्य उपचारका लागि समेत प्रदेशबाहिर जानुपर्ने बाध्यता भोग्दै आएको उल्लेख गर्दै मन्त्री खड्काले यस अवस्थाको अन्त्यका लागि प्रदेशभित्रै गुणस्तरीय, भरपर्दो र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन संघीय सरकारसँग आग्रह गर्नुभएको छ। उहाँले स्वास्थ्य सेवामा देखिएका समस्या समाधान गर्न तथा अस्पतालहरूको सेवा क्षमता अभिवृद्धि गर्न आवश्यक सहयोग र पहल गर्नुपर्नेमा जोड दिनुभएको हो।
त्यसैगरी, नागरिकको स्वास्थ्य सुरक्षासँग प्रत्यक्ष जोडिएको स्वच्छ तथा सुरक्षित खाद्य पदार्थको उत्पादन, बिक्रीवितरण र उपभोगलाई प्रोत्साहन गर्ने विषयमा समेत छलफल भएको छ। खाद्य स्वच्छता र गुणस्तर कायम गर्दै नागरिकलाई सुरक्षित खाद्य पदार्थ उपलब्ध गराउने व्यवस्था प्रभावकारी बनाउनुपर्ने आवश्यकतासमेत औँल्याइएको छ।
कर्णाली प्रदेशमा स्वास्थ्य सेवाको पहुँच विस्तार, विशेषज्ञ उपचारको व्यवस्था तथा आवश्यक स्वास्थ्य पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै संघीय र प्रदेश सरकारबीच समन्वय तथा सहकार्य बढाउनुपर्नेमा भेटवार्ताले जोड दिएको छ।







