अपडेट

३३ महिनापछि घर फर्किए, तर घर पुग्न नपाउँदै मृत भेटिए

  ।   १३ श्रावण २०८२, मंगलवार १०:१७

सुर्खेत । विदेश कमाएर घर फर्किएका एक युवाको शव बाटोमै फेला परेको छ। तीन वर्षजति मलेसियामा पसिना बगाएर परिवारसँग पुनर्मिलनको आशामा घर फर्किएका २८ वर्षीय सुरेन्द्रबहादुर शाहीको शव साउन ११ गते बिहान दैलेखको छामघाटमा भेटिएको हो।
सुरेन्द्र दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–६, लैनचौरका बासिन्दा हुन्। उनी असार ३२ गते मात्रै मलेसियाबाट नेपाल फर्किएका थिए।

नेपाल फर्किएपछि उनी केही दिन सुर्खेतको वीरेन्द्रनगरमा बसेर भाइबहिनी र आफ्ना तीन सन्तानसँग भेटघाट गरे। त्यसपछि साउन १० गते बिहान घर जाने भन्दै सुर्खेतबाट बस चढेका थिए। तर, उनी घर पुग्न सकेनन्।
सामान्यतः सुरेन्द्रले बड्डिचौर–तल्लो डुङ्गेश्वर मार्ग भएर घर जानुपर्ने थियो। तर, यसपटक उनले दैलेख बजार हुँदै गुराँसे मार्ग प्रयोग गरेका थिए, जुन अस्वाभाविक बाटो मानिएको छ। के कारणले उनले यो मार्ग रोजे भन्ने स्पष्ट भइसकेको छैन।

साउन ११ गते साँझ सुरेन्द्रको शव दुल्लु नगरपालिका–११ स्थित छामघाट खोला किनारमा फेला परेको थियो।
प्रहरीका अनुसार शवको अवस्थामा शंका गर्नुपर्ने आधार देखिएको छ। सुरेन्द्रका टाउँकोमा गहिरो चोट, घाँटीमा डोरी कसिएको जस्तो र अन्य शारीरिक चोटपटक देखिएको भन्दै आफन्तहरूले हत्या भएको आशंका गरेका छन्।
सुरेन्द्रका दाजु दीपक शाही भन्छन्, “उनी आमाबुबालाई भेट्न आउँदै थिए। तर, बाटोमै यस्तो बिडम्बना भयो। शवको अवस्था हेर्दा कसैले मारेर खोलामा फालेको जस्तो देखिन्छ।”

विदेशमा हुँदा पनि सुरेन्द्रको पारिवारिक जीवनमा उथलपुथल आइरहेको रहेछ। मलेसियामा रहँदाखेरि नै उनकी पत्नी डल्ली शाहीले गाउँकै अर्का पुरुषसँग विवाह गरेको आफन्तहरू बताउँछन्। तीन सन्तानमध्ये दुई जना हाल सुर्खेतमा शिक्षारत छन् भने एक छोरी दैलेखकै घरमा हजुरबुबा–हजुरआमासँग बस्दै आएकी छन्।

सुरेन्द्रको शव हाल जिल्ला अस्पताल दैलेखको शवगृहमा राखिएको छ। आफन्तहरूले घटनाको निष्पक्ष छानबिन र हत्यामा संलग्न व्यक्तिहरूको पहिचान तथा पक्राउ नभएसम्म शवको पोस्टमार्टम गर्न नदिने अडान लिएका छन्।

तीन वर्षको परदेशी श्रमपछिको घरफर्काइ खुसी होइन, शोकमा परिणत भएको छ। सुरेन्द्र शाहीको मृत्यु रहस्यमय परिस्थितिमा भएको हुँदा यसमा न्यायिक छानबिन अपरिहार्य देखिन्छ। एउटै परिवारमा यति गहिरो विछोडको पीडाले अझै गाउँ सिंगो शोकमा डुबेको छ।

 

Next Post

tiger attack

बाघको त्रासले गाउँ आक्रान्त: दैलेखमा एकै रातमा ६ खसीबाख्रा सिकार

१३ श्रावण २०८२, मंगलवार १०:१७
सुर्खेत । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–६ नाउला गाउँमा शनिबार राति भएको बाघको आक्रमणले एक कृषकको गोठमा रहेका ६ वटा खसीबाख्राको ज्यान गएको छ। स्थानीय ६९ वर्षीया मैना बोहराको खोरमा पसेर बाघले चार वटा बाख्रा र दुई वटा खसी मारिदिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। प्रहरी नायब उपरीक्षक (डिएसपी) गणेश […]