टोलीबाट हटाइएपछि पृथ्वी तिरुवाले उठाए प्रश्न

  ।   ८ मंसिर २०८३, सोमबार २३:३३

जगदिश शाही

सुर्खेत । कर्णाली प्रदेश भलिबल टोलीबाट बाहिरिएपछि भलिबल खेलाडी पृथ्वी तिरुवाले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि सार्वजनिक गरेका छन्। टोलीबाट हटाइनुको कारणबारे प्रश्न उठाउँदै उनले सम्बन्धित पक्षसँग स्पष्ट जवाफ मागेका छन्।

आफूले अनुशासन पालना नगरेको र अत्यधिक एटिट्युड देखाएको आरोपमा टोलीबाट हटाइएको कुरा सुन्नुपरेको तिरुवाले बताएका छन्। यदि आफूमा त्यस्तो समस्या थियो भने सुरुमै छनोट गरेर एक सातासम्म प्रशिक्षणमा सहभागी गराउनुको औचित्यमाथि उनले प्रश्न गरेका छन्।

आफूबाट कुनै गल्ती भएको भए समयमै जानकारी गराइएको अवस्थामा स्वीकार गर्न तयार रहेको उल्लेख गर्दै उनले नगरेको गल्तीको आरोप खेप्नुपर्दा दुःख लागेको बताएका छन्।

टोलीबाट बाहिरिनुको वास्तविक कारण स्पष्ट पार्न आग्रह गर्दै तिरुवाले आफूमाथि लगाइएको आरोपको सत्यताबारे सम्बन्धित पक्षले जवाफ दिनुपर्ने बताएका छन्।

खेलाडी तिरुवाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका प्रश्नपछि कर्णाली प्रदेश भलिबल टोलीको छनोट तथा खेलाडी व्यवस्थापन प्रक्रियाबारे चासो बढेको छ। यद्यपि, उनलाई टोलीबाट हटाउनुको आधिकारिक कारण र यस विषयमा सम्बन्धित प्रशिक्षक तथा व्यवस्थापन पक्षको धारणा सार्वजनिक हुन बाँकी छ।