अपडेट

युवा मानव अधिकार रक्षकको सुरक्षा र क्षमता अभिवृद्धिसम्बन्धी पाँचदिने तालिम सम्पन्न

  ।   ४ मंसिर २०८३, बिहीबार २०:३०

जगदिश शाही

सुर्खेत । मानव अधिकार उल्लङ्घनका घटनाविरुद्ध खबरदारी गर्ने युवा रक्षकहरूको सुरक्षा र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको पाँचदिने तालिम सम्पन्न भएको छ।

ग्रामीण युवा अभियान नेपाल (रोयम नेपाल) ले राष्ट्रिय मानव अधिकार आयोगको सहकार्य तथा AEIN को सहयोगमा सञ्चालन गरेको तालिममा कर्णाली प्रदेशका १० वटै जिल्लाबाट दुई जनाका दरले २० जना युवा सहभागी भएका छन्।

समापन कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका मुरारीप्रसाद खरेल प्रमुख अतिथि तथा आयोगको कर्णाली प्रदेश कार्यालयका प्रमुख रमेशकुमार थापा, आयोगका प्रशिक्षक दीपेन्द्र सिंह, रोयम नेपालको केन्द्रीय कार्यालयका अनुगमन तथा मूल्याङ्कन संयोजक हिक्मत अधिकारी, रोयम नेपालका कर्णाली प्रदेश संयोजक सन्तोष विक र पत्रकार प्रभुराम पाण्डे लगायत अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रमको अध्यक्षता युवा मानव अधिकार रक्षक सुर्खेत जिल्ला अध्यक्ष पूजा दमाईले गरेकी थिइन्।

कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै रोयम नेपालका कर्णाली प्रदेश संयोजक सन्तोष विकले मानव अधिकार उल्लङ्घनविरुद्ध आवाज उठाउने युवा रक्षकहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै उनीहरूको क्षमता अभिवृद्धि गर्नु तालिमको मुख्य उद्देश्य रहेको स्पष्ट पारे। कार्यक्षेत्रमा आइपर्न सक्ने जोखिम पहिचान, व्यवस्थापन र सुरक्षित रूपमा जिम्मेवारी निर्वाह गर्न आवश्यक ज्ञान, सीप तथा आत्मविश्वास विकास गराउनु कार्यक्रमको लक्ष्य रहेको उनको भनाइ छ।

प्रमुख अतिथि खरेलले मानव अधिकार संरक्षण र प्रवर्द्धनका लागि युवा पुस्ताको सक्रिय सहभागिता तथा निरन्तर खबरदारी आवश्यक रहेकोमा जोड दिए। मानव अधिकारका क्षेत्रमा क्रियाशील रक्षकहरूको सुरक्षा र संरक्षणलाई समेत प्राथमिकता दिनुपर्ने उनको धारणा छ।

आयोगको कर्णाली प्रदेश कार्यालयका प्रमुख थापाले समुदायस्तरमा सचेतना, निगरानी र जवाफदेहिताको आवश्यकता औँल्याउँदै उल्लङ्घनका घटनाविरुद्ध तथ्य र प्रमाणका आधारमा जिम्मेवार ढङ्गले आवाज उठाउनुपर्नेमा जोड दिए।

त्यस्तै, आयोगका प्रशिक्षक सिंह र रोयम नेपालको केन्द्रीय कार्यालयका अनुगमन तथा मूल्याङ्कन संयोजक अधिकारीले रक्षकहरूको क्षमता विकास, सुरक्षा र प्रभावकारी कार्यसम्पादनका विषयमा धारणा राखे।

पाँचदिने तालिममा व्यक्तिगत, संस्थागत, डिजिटल तथा मनोसामाजिक सुरक्षा, जोखिम विश्लेषण, घटनाको पहिचान, तथ्य तथा प्रमाण सङ्कलन र दस्तावेजीकरणलगायतका विषयमा प्रशिक्षण तथा अभ्यास गराइएको थियो।

कार्यक्रमको अध्यक्षता गरेकी युवा मानव अधिकार रक्षक सुर्खेत जिल्ला अध्यक्ष पूजा दमाईले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहारमा कार्यान्वयन गर्दै अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन्। सहभागी युवाहरू थप जिम्मेवार, सक्षम र सुरक्षित रूपमा कार्यक्षेत्रमा परिचालित हुने विश्वाससमेत व्यक्त गरिन्।

तालिमले कर्णालीका १० वटै जिल्लामा क्रियाशील युवा रक्षकहरूको क्षमता अभिवृद्धि गर्नुका साथै मानव अधिकार उल्लङ्घनविरुद्ध खबरदारी र संरक्षणका गतिविधिलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित शीर्षक