दलित युवायुवतीलाई लोकसेवा तयारीमा खाँडाचक्र- १ को सहयोग, चार जनालाई आर्थिक सहायता

  ।   ३ श्रावण २०८३, आईतवार २१:३१

 

कालीकोट। खाँडाचक्र नगरपालिका–१ ले दलित समुदायका युवायुवतीको शैक्षिक तथा व्यावसायिक सशक्तीकरणलाई प्राथमिकता दिँदै आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत बजेटमार्फत चार जना युवायुवतीलाई लोकसेवा तयारी कक्षाका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ।

वडाले “२० वर्ष उमेर पुगेका अविवाहित दलित समुदायका युवतीलाई लोकसेवा तयारी कक्षा सञ्चालन” शीर्षकमा विनियोजन गरिएको रु. २० हजार बजेटबाट वडा नं. १ निवासी भृकुटी बि।क। र सुस्मिता पुर्कुटी लाई जनही रु. १० हजारका दरले सहयोग गरेको छ। यस कार्यक्रमको उद्देश्य दलित समुदायका युवतीलाई उच्च शिक्षा तथा सरकारी सेवातर्फ आकर्षित गर्नुका साथै बालविवाह न्यूनीकरणमा टेवा पुर्‍याउनु रहेको छ।

त्यसैगरी, “दलित युवा लोकसेवा तयारी कक्षा सञ्चालन” शीर्षकमा विनियोजन गरिएको रु. ३० हजार बजेटबाट उमेश बि.क. र जीवन बि.क. लाई जनही रु. १५ हजार आर्थिक सहयोग प्रदान गरिएको छ।

सहयोग प्राप्त गरेका चारै जना हाल काठमाडौंस्थित टिम सन्देश इन्स्टिच्युट प्रा.लि.मा शिक्षक सेवा आयोग, खरिदार तथा नायब सुब्बा (नासु) लगायतका लोकसेवा तयारी कक्षामा अध्ययनरत छन्। उनीहरूले वडाबाट प्राप्त सहयोगले कक्षा शुल्क, अध्ययन सामग्री तथा दैनिक शैक्षिक खर्च व्यवस्थापनमा ठूलो राहत पुगेको बताएका छन्।

वडा अध्यक्ष धर्मराज ताम्राकारका अनुसार, दलित समुदायका युवायुवतीलाई प्रतिस्पर्धी सरकारी सेवामा पहुँच विस्तार गर्ने, सक्षम र आत्मनिर्भर जनशक्ति उत्पादन गर्ने तथा सामाजिक समावेशीकरणलाई व्यवहारमै कार्यान्वयन गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो। उहाँले शिक्षा र अवसरमा सबैको समान पहुँच सुनिश्चित गर्दै पछाडि परेका समुदायलाई प्राथमिकतामा राखेर आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।

वडा अध्यक्ष ताम्राकारले स्थानीय सरकारको लगानीले आर्थिक रूपमा विपन्न तथा अवसरबाट वञ्चित युवायुवतीमा नयाँ उत्साह थपेको उल्लेख गर्दै विशेषगरी युवतीलाई उच्च शिक्षा र लोकसेवातर्फ प्रेरित गर्न, बालविवाह न्यूनीकरण गर्न तथा महिला सशक्तीकरणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

शिक्षा, क्षमता विकास र समान अवसरमार्फत समृद्ध समाज निर्माण गर्ने अभियानमा खाँडाचक्र नगरपालिका–१ को यो पहल अन्य स्थानीय तहका लागि समेत अनुकरणीय बन्न सक्ने अपेक्षा गरिएको छ।

Next Post

खाँडाचक्र–१ को जनमुखी निर्णय : कागजातको प्रतिलिपि शुल्क ५०० बाट २०० रुपैयाँमा झर्‍यो

३ श्रावण २०८३, आईतवार २१:३१
कालीकोट। खाँडाचक्र नगरपालिका वडा नं. १ ले नागरिकलाई सहज, सरल तथा किफायती प्रशासनिक सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न सिफारिस तथा सरकारी कागजातको प्रतिलिपि शुल्कमा उल्लेखनीय कटौती गरेको छ। वडा कार्यालयबाट प्रदान गरिने नागरिकताको प्रतिलिपि, जन्मदर्ता, विवाह दर्ता, बसाइँसराइ लगायतका विभिन्न कागजातको प्रतिलिपि दस्तुर साविकको रु. ५०० बाट घटाएर रु. २०० […]