कालीकोट । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कालीकोटको मान्ममा जारी कर्णाली प्रदेशस्तरीय पुरुष भलिबल छनोट प्रतियोगितामा सुर्खेत र सल्यान फाइनलमा प्रवेश गरेका छन्। प्रतियोगिताको तेस्रो दिन आज भएका प्रतिस्पर्धाबाट सुर्खेत र सल्यानले फाइनलमा स्थान सुरक्षित गरेका हुन्।
फाइनल प्रवेशका लागि उत्कृष्ट प्रदर्शन गरेका दुवै टोली अब उपाधिका लागि आमनेसामने हुनेछन्। यस्तै, तेस्रो स्थानका लागि दैलेख र रुकुम पश्चिमबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताका अन्तिम खेल भोलि सञ्चालन हुनेछन्। त्यससँगै प्रतियोगिता समापन गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा खेलाडीहरूले अनुशासित, मर्यादित र प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरिरहेको कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य पंखबहादुर मल्लले बताउनुभयो।
मल्लले प्रतियोगितामा खेलाडीहरूले सम्मानजनक ढङ्गले प्रतिस्पर्धा गरिरहेको उल्लेख गर्दै खेलमा रोमाञ्चकता र प्रतिस्पर्धात्मक भावना देखिएको बताउनुभयो। कर्णाली प्रदेशका १० जिल्लाका खेलाडी सहभागी छनोट प्रतियोगितामा केही टोली प्रतियोगिताबाट बाहिरिए पनि उनीहरूलाई आगामी खेलमा अझ राम्रो प्रदर्शन गर्दै सफलता हासिल गर्न उहाँले शुभकामना व्यक्त गर्नुभयो।
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट गर्ने उद्देश्यले आयोजना गरिएको प्रदेशस्तरीय प्रतियोगिताले कर्णालीमा भलिबल खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि र प्रतिस्पर्धात्मक खेल संस्कृतिको प्रवर्द्धनमा योगदान पुग्ने बिश्वास गरिएको छ।







