काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोलगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छन् । वर्षाका कारण देशमा १० करोडभन्दा बढीको क्षति भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ७८ जनाको मृत्यु भएको हो । जेठ २८ देखि मंगलवार विहानसम्म बाढीपहिरो परेर ९० जना घाइते र पाँचजना बेपत्ता भएका छन् ।
बाढीपहिराका कारण देशभरी तीन सय ८१ पशु चौपाय मरे, ९८ गोठमा क्षति पाँच सय ९५ घर विस्थापित भएका छन् । विपद् व्यवस्थापनका निम्ति पाँच हजार ४१ प्रहरी परिचालन गरिएको छ ।
बाढीपहिरोले एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुग्दा ४१ वटा पुल बगाएको छ । यस्तै, एक सय ६१ घर डुबानमा परेको र एक सय १६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
अविरल वर्षाका कारण देशभर एक हजार २८ घटना भएको र त्यसबाट १० करोड १८ लाख ८५ हजार सात सय बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।