कालीकोट । नेपाली कांग्रेस कालीकोटको आठौँ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि बनेकी भगवती देवकोटा (भट्टराई)को राजनीतिक यात्रा विद्यार्थी संगठनबाट सुरु भएर पार्टीको जिल्ला तहसम्म पुगेको छ। द्वन्द्वकालको कठिन परिस्थितिमा नेपाल विद्यार्थी संघको संगठन विस्तारमा सक्रिय उनी महिला संघ, तरुण दल र पार्टीका विभिन्न जिम्मेवारीमा रहेर राजनीतिमा निरन्तर क्रियाशील रहँदै आएकी छन्।
२०६० सालमा देश सशस्त्र द्वन्द्वको चपेटामा थियो भने नेपाली कांग्रेस विभाजित भएर नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिकका रूपमा छुट्टाछुट्टै गतिविधि गरिरहेका थिए। त्यही समयमा भट्टराईले नेपाली कांग्रेस प्रजातान्त्रिकअन्तर्गत नेपाल विद्यार्थी संघको जिल्ला उपसभापतिको जिम्मेवारी प्राप्त गरिन्।
द्वन्द्वकालपछि गाउँगाउँमा राजनीतिक गतिविधि विस्तार गर्नु चुनौतीपूर्ण थियो। सडक तथा यातायातको असुविधा र द्वन्द्वका कारण नागरिकमा रहेको त्रासका बीच पनि उनले कालीकोटका विभिन्न विद्यालयमा पुगेर नेपाल विद्यार्थी संघको संगठन विस्तारमा सक्रिय भूमिका निर्वाह गरिन्। कठिन परिस्थितिमा जिल्लाका विद्यालयहरूमा संगठन विस्तार गर्नु आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण अनुभव रहेको उनी बताउँछिन्।
विद्यार्थी राजनीतिमा सक्रिय भट्टराईले नेपाल तरुण दलको महाधिवेशनमा समेत सहभागिता जनाइन्। २०६४ सालमा चितवनको भरतपुरमा सम्पन्न तरुण दलको महाधिवेशनमा केन्द्रीय पार्षदका रूपमा सहभागी भएकी उनी पोखरामा सम्पन्न अर्को महाधिवेशनमा पनि पार्षद बनिन्। तरुण दलको केन्द्रीय सदस्य बन्ने आकांक्षा राखे पनि त्यतिबेला पदाधिकारी मात्र चयन भएका कारण उक्त अवसर प्राप्त नभएको उनले बताइन्।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएपछि उनले स्थानीय तहमा जनप्रतिनिधिका रूपमा काम गर्ने अवसर पाइन्। त्यससँगै पार्टीको जिल्ला कार्यसम्पादन समितिको सदस्य तथा भ्रातृ संस्था विभागमा रहेर पनि उनले संगठनात्मक जिम्मेवारी निर्वाह गर्दै आएकी छन्। महिला संघको सचिवदेखि पार्टीको महाधिवेशन प्रतिनिधिसम्मको जिम्मेवारीले उनको राजनीतिक यात्रालाई थप फराकिलो बनाएको छ।
देउवाप्रतिको विश्वास कायमै
नेपाली कांग्रेस विभाजन हुँदा शेरबहादुर देउवाले नेतृत्व गरेको नेपाली कांग्रेस प्रजातान्त्रिकमा रहेर काम गरेकी भट्टराई अहिले पनि देउवाको साथमा रहेको बताउँछिन्। पार्टीभित्रको आन्तरिक संघर्ष र बदलिँदो राजनीतिक परिस्थितिका बाबजुद देउवाप्रतिको आफ्नो भरोसा र विश्वास कहिल्यै कम नभएको उनको भनाइ छ।
लामो समयदेखि कांग्रेसको संगठन निर्माणमा सक्रिय भट्टराईले विद्यार्थी राजनीति, महिला संगठन, तरुण दल, स्थानीय तहको प्रतिनिधित्व र पार्टीका विभिन्न जिम्मेवारीमार्फत राजनीतिक अनुभव हासिल गरेकी छन्। द्वन्द्वकालको असहज अवस्थादेखि पार्टीको जिल्ला तहसम्मको उनको यात्रा कालीकोटको कांग्रेस राजनीतिमा निरन्तर सक्रियताको उदाहरणका रूपमा रहेको छ।






