सान्नित्रिवेणीका सबै वडा सडक सञ्जालमा जोडिने, विष्फोटक प्रयोग गरी निर्माण सुरु

  ।   २० माघ २०८२, मंगलवार २१:४०

७ करोड १७ लाखको लगानीमा लुइँयाटा–कालाढुङ्गा–रकु सडक शिलान्यास
कालीकोट । कालीकोट जिल्लाको सान्नित्रिवेणी गाउँपालिका–३ अन्तर्गत पर्ने लुइँयाटा–कालाढुङ्गा हुँदै रकु जोड्ने बहुप्रतिक्षित सडकको औपचारिक शिलान्यास गरिएको छ। ग्रामीण बस्तीलाई पालिका केन्द्रसँग जोड्ने लक्ष्यका साथ सुरु गरिएको यो सडक निर्माणले सान्नित्रिवेणी गाउँपालिकाको यातायात पहुँचमा ऐतिहासिक सुधार ल्याउने अपेक्षा गरिएको छ।

उक्त सडक आर्थिक वर्ष २०८२ – ०८३ को समपूरक योजनाअन्तर्गत निर्माण हुन लागेको हो। यसका लागि समपूरक कोषबाट ८० प्रतिशत र सान्नित्रिवेणी गाउँपालिकाबाट २० प्रतिशत बजेट साझेदारी गरी कुल ७ करोड १७ लाख रुपैयाँको ठेक्का आह्वान गरिएको थियो। ठेक्का प्रक्रियापछि जगदम्बा अभियान–ईभाना जे.भी. ले ५ करोड ९८ लाख रुपैयाँमा सम्झौता गरी निर्माण कार्य सुरु गरेको छ।

विष्फोटक प्रयोग गरी ट्रयाक खोलिने

लुइँयाटा खोला–कालाढुङ्गा–रकु सडकको शिलान्यास विष्फोटक पदार्थसहित गरिएको हो। शिलान्यास कार्यक्रमपछि सान्नित्रिवेणी गाउँपालिका उपाध्यक्ष पार्वती सिंह ९संज्याल० ले आजकै मितिबाट विष्फोटक प्रयोगसहित निर्माण कार्य सुरु गरी छिटोभन्दा छिटो ट्रयाक खोल्न निर्माण व्यवसायीलाई निर्देशन दिइन्।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष मोहन बहादुर के।सी। ले भने,
“यो सडक पालिकाका लागि अत्यन्तै महत्वपूर्ण आयोजना हो। समयमै र गुणस्तरीय ढङ्गले निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई अनुरोध गर्दछु।”

यसअघि देखिन्थ्यो सडक अभाव

सान्नित्रिवेणी गाउँपालिकाका धेरै वडाहरूमा लामो समयदेखि सडक पहुँचको अभाव रहँदै आएको थियो। वर्षातको समयमा पैदल यात्रा जोखिमपूर्ण हुने, बिरामी बोक्न कठिनाइ हुने तथा कृषि उपज बजारसम्म पुर्‍याउन समस्या हुने अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले सडक पूर्वाधारलाई प्राथमिकतामा राख्दै चरणबद्ध रूपमा योजना अघि बढाउँदै आएको छ। लुइँयाटा–कालाढुङ्गा–रकु सडक त्यसै प्रयासको महत्वपूर्ण कडी हो।

सबै वडा पालिका केन्द्रसँग जोडिने वडा नम्बर ३ का वडा अध्यक्ष रंग लाल देवकोटा का अनुसार यो सडक निर्माण सम्पन्न भएपछि सान्नित्रिवेणी गाउँपालिकाका सबै वडाहरू सडक सञ्जालमार्फत पालिका केन्द्रसँग जोडिनेछन्। विशेषगरी वडा नं. ३ को लुइँयाटा हुँदै वडा नं. २ र अन्य वडाका बस्तीहरू सडक सञ्जालमा समेटिने छन्।

उनले भने, “सडक बनेसँगै स्थानीयको दैनिकी सहज हुने मात्र होइन, शिक्षा, स्वास्थ्य, व्यापार र समग्र आर्थिक गतिविधिमा ठूलो परिवर्तन आउनेछ।”

स्थानीय विकासमा सकारात्मक प्रभाव

यो सडक सञ्चालनमा आएपछि यातायात सुविधा सहज हुनुका साथै कृषि, व्यापार, शिक्षा, स्वास्थ्य सेवा र आपतकालीन उद्धारमा ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ। स्थानीय स्तरमा रोजगारी सिर्जना हुने र विकास गतिविधि तीव्र हुने अपेक्षा गरिएको छ।

उल्लेखनीय सहभागिता

सडक शिलान्यास कार्यक्रममा सान्नित्रिवेणी गाउँपालिका अध्यक्ष मोहन बहादुर के.सी., उपाध्यक्ष पार्वती सिंह संज्याल, वडा नं. १ का अध्यक्ष बैकुण्ठ राज गिरी, वडा नं. २ र ३ का वडा अध्यक्षहरू, बसन्त बुढा, प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर बडुवाल लगायत जनप्रतिनिधि, कर्मचारी र स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो।

Next Post

उपचारपछि घर फर्किँदै गरेको बिरामी सवार एम्बुलेन्स दुर्घटना : ८ जना घाइते

२० माघ २०८२, मंगलवार २१:४०
दैलेख । नेपालगञ्जमा चार महिना लामो उपचारपछि घर फर्किँदै गरेकी एक बिरामी सवार एम्बुलेन्स बुधबार बिहान दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। दुर्घटनामा नौमूले गाउँपालिका–६ सल्लेरीकी ५५ वर्षीया भविसरा दर्लामी गम्भीर घाइते हुनुभएको छ। मस्तिष्कघातको उपचारपछि शुभेच्छुकहरूको आर्थिक सहयोगमा घर फर्किँदै गर्नुभएकी भविसरा घर पुग्नै लाग्दा दुर्घटनामा पर्नुभएको हो। […]