कालिकोट । कालिकोट जिल्लाको मान्म बजार क्षेत्रमा सरसफाइ अभियान सम्पन्न भएको छ। युवा मानवअधिकार रक्षक सञ्जालको आयोजनामा सम्पन्न उक्त कार्यक्रम जेन्जिरेडफोस र युवा गैरसरकारी महासंघ शाखा कालिकोटको सहकार्य तथा स्वास्थ्य सेवा कार्यालय कालिकोट र धर्ति फाउण्डेशनको सहयोगमा सञ्चालन गरिएको हो।

वातावरण संरक्षण र सार्वजनिक स्वास्थ्य सुधार गर्ने मुख्य उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा स्थानीय युवा, विभिन्न सरोकारवाला निकाय तथा सर्वसाधारणको उत्साहजनक सहभागिता देखिएको थियो। अभियान अन्तर्गत बजार क्षेत्रका सडक, गल्ली, नाली तथा सार्वजनिक स्थलहरू सरसफाइ गरिएको थियो। साथै, सहभागीहरूले प्लास्टिकजन्य तथा अन्य फोहोर संकलन गरी उचित व्यवस्थापन गरिएको थियो।
कार्यक्रमका क्रममा सहभागीहरूले वातावरण स्वच्छ राख्नु सबैको साझा जिम्मेवारी भएको सन्देश प्रवाह गर्दै स्थानीयवासीहरूलाई सरसफाइप्रति सचेत गराएका थिए। विशेषगरी प्लास्टिक प्रयोग न्यूनीकरण, फोहोर व्यवस्थापन र सरसफाइको नियमित अभ्यास गर्नुपर्नेमा जोड दिइएको थियो।
आयोजक संस्थाका प्रतिनिधिहरूले यस्तो अभियानले समुदायमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै आगामी दिनहरूमा पनि निरन्तर रूपमा सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताएका छन्।
स्थानीयवासीहरूले पनि अभियानको प्रशंसा गर्दै यस्ता कार्यक्रमले वातावरण संरक्षण मात्र नभई समुदायमा स्वास्थ्य सचेतना बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। उनीहरूले यस्ता अभियानलाई निरन्तरता दिन सरोकारवाला निकाय र समुदायबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।







