मुगुमा फैलियो इन्फ्लुएन्जा, १७ दिनमा ५ जनाको मृत्यु युवाहरूद्वारा ध्यानाकर्षण पत्र

  ।   १० पुष २०८२, बिहीबार ०९:०९
युवाहरूद्वारा २४ घण्टाभित्र विशेषज्ञ चिकित्सक टोली पठाउन स्वास्थ्य मन्त्रीसमक्ष माग रतन रावल

मुगु । मुगु जिल्लामा फैलिएको इन्फ्लुएन्जा (भाइरल ज्वरो) को प्रकोप दिनप्रतिदिन गम्भीर बन्दै गएपछि स्थानीय युवाहरूले सरकारको ध्यानाकर्षण गराउँदै तत्काल आपतकालीन हस्तक्षेपको माग गरेका छन्। स्थानीय युवा आशिष देवकोटाको नेतृत्वमा गठित युवाहरूको समूहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीसमक्ष २४ घण्टाभित्र विशेषज्ञ चिकित्सक टोली मुगु पठाउनुपर्ने मागसहित ज्ञापनपत्र बुझाएका हुन्।

युवाहरूका अनुसार हाल मुगु जिल्ला अस्पतालमा दैनिक २ सय भन्दा बढी इन्फ्लुएन्जासम्बन्धी बिरामी उपचारका लागि पुगिरहेका छन्। तर अस्पतालमा जम्मा ५० शय्या मात्र उपलब्ध हुँदा बिरामीलाई पर्याप्त उपचार दिन नसकिएको अवस्था छ। लामो समयदेखि अक्सिजन प्लान्ट सञ्चालनमा नरहेको,  x-ray मेसिन बिग्रिएको तथा आवश्यक औषधि र मेडिकल उपकरणको गम्भीर अभाव रहेको स्थानीयको गुनासो छ। यसले विशेषगरी गम्भीर अवस्थाका बिरामीको उपचारमा ठूलो समस्या सिर्जना गरेको छ।

प्रकोपकै बीच पछिल्लो १७ दिनमा राराछायानाथ नगरपालिका वडा नम्बर–१२, बाम गाउँमा मात्रै पाँच जनाको मृत्यु भइसकेको छ। मृतकमध्ये शिशु र साना बालबालिकासमेत रहेका छन्। यति गम्भीर अवस्था हुँदासमेत केन्द्र सरकारको स्पष्ट र प्रभावकारी हस्तक्षेप नदेखिएको भन्दै स्थानीय युवाहरूले सरकारप्रति गम्भीर प्रश्न उठाएका छन्।

मन्त्रीलाई बुझाइएको मागपत्रमा संक्रामक रोग विशेषज्ञसहित चिकित्सक, नर्स तथा प्राविधिकसहितको आपतकालीन टोली तत्काल मुगु पठाउन, बिग्रिएको अक्सिजन प्लान्ट र मेसिनको मर्मत वा प्रतिस्थापन गर्न, इन्फ्लुएन्जा तथा श्वासप्रश्वाससम्बन्धी पर्याप्त औषधि र उपकरण आपूर्ति गर्न माग गरिएको छ। साथै हालको ५० शय्या क्षमतालाई आपतकालीन कक्ष ICU सेवासहित कम्तीमा १ सय शय्यामा विस्तार गर्नुपर्ने माग पनि अघि सारिएको छ।

युवाहरूले २०६६ सालको जाजरकोट केन्द्रित झाडापखाला तथा हैजाको महामारी स्मरण गर्दै समयमै हस्तक्षेप नगर्दा ठूलो मानवीय क्षति भएको इतिहास दोहोरिन नदिन सरकार गम्भीर हुनुपर्ने बताएका छन्। “कर्णालीले सधैँ सहेर बाँच्न सिकेको छ, तर सहनशीलताको पनि सीमा हुन्छ,” उनीहरूले चेतावनी दिएका छन्।

मुगुमा फैलिएको इन्फ्लुएन्जा अब सामान्य स्वास्थ्य समस्या नभई राज्यको संवेदनशीलता र जवाफदेहिताको परीक्षा बनेको स्थानीयको भनाइ छ। ढिलाइ नगरी तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग उनीहरूले जोडदार माग गरेका छन्।

Next Post

विदेशी मतदाता अधिकारको मागसहित Z जी गृहमन्त्रीसँग ध्यानाकर्षण

१० पुष २०८२, बिहीबार ०९:०९
काठमाडौं। न्याय, अधिकार र प्रणालीगत परिवर्तनको मागसहित निरन्तर अघि बढिरहेको Z जी आन्दोलनले  सिंहदरबारमा सरकारको ध्यानाकर्षण गराएको छ। आन्दोलनका प्रतिनिधिहरूले माननीय गृहमन्त्री ओमप्रकाश आर्यालज्यूसँग भेट गरी जनताका ज्वलन्त मुद्दाहरू प्रत्यक्ष, निर्भीक र तथ्यसहित प्रस्तुत गरेका छन्। भेटका क्रममा आन्दोलनले Z जी आन्दोलनका शहीद तथा पीडितहरूलाई अझैसम्म न्याय नदिइनु राज्यको गम्भीर […]