सल्यान । जिल्ला अस्पताल सल्यानमा बहुप्रतीक्षित ब्लड बैंक सेवा आजबाट औपचारिक रूपमा सुरु भएको छ। ब्लड बैंक स्थापनाका लागि आवश्यक थप सामग्री सल्यान आइपुगेपछि सेवा सञ्चालनमा ल्याइएको हो।
रगत अभावकै कारण उपचारमा समस्या झेल्दै आएका सल्यानी नागरिकका लागि यो सेवा जीवनरक्षक उपलब्धि भएको सरोकारवालाहरूले बताएका छन्। विशेषगरी सल्यानी युवाहरूको सक्रियता, समर्पण र सामूहिक प्रयासले ब्लड बैंक स्थापना सम्भव भएको हो।
युवाहरूले दिएको जिम्मेवारी पूरा भएको अनुभूति व्यक्त गर्दै एक अभियन्ताले भने, “प्रयास गरे हुन्छ भन्ने कुरा ब्लड बैंक स्थापनाले प्रमाणित गरेको छ। राम्रो काममा सल्यानी युवाहरू सधैँ हातेमालो गर्न तयार छन्।”
ब्लड बैंक स्थापनामा युवा अभियन्ता युबराज खड्काको भूमिका उल्लेखनीय रहेको छ। उहाँले आफ्ना सम्पूर्ण काम छोडेर ब्लड बैंक स्थापना नहुन्जेलसम्म सल्यानमै बस्ने प्रतिबद्धताका साथ निरन्तर सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो।
युबराज खड्काले भन्नुभयो, “रगतजस्तो अत्यन्त संवेदनशील विषयमा कुनै पनि बहानामा राजनीति गर्न खोजियो भने सल्यानी जनताले माफी दिने छैनन्। यो सबैको साझा दायित्व हो।”
रगतजस्तो जीवनसँग प्रत्यक्ष जोडिएको विषयमा संघीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूले कति प्राथमिकता दिएका छन् भन्ने विषयमा नागरिकहरू सचेत र निगरानीकर्ता बन्नुपर्ने आवश्यकता औंल्याइएको छ। ब्लड बैंक स्थापनाको निर्णयमा सम्बन्धित पालिकाहरू समावेश छन् कि छैनन्, यदि छैनन् भने किन छैनन् भन्ने प्रश्न उठाउनुपर्ने सरोकारवालाहरूको भनाइ छ।
जिल्ला अस्पताल सल्यानमा सुरु भएको ब्लड बैंक सेवा स्वास्थ्य सेवामात्र नभई, युवा एकता, नागरिक सचेतना र मानवताको विजयका रूपमा हेरिएको छ।








