रुकुम । रुकुम पश्चिममा अनलाईनमार्फत नागरिकता सिफारिस सेवा सुरु भएको छ । नागरिकता प्राप्तीका लागि सम्बन्धित वडा कार्यालयबाट हुने सिफारिस अनलाईनबाटै हुन थालेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले स्थानीय तहका सूचना प्रविधि अधिकृत, वडा सचिव, जिल्ला प्रशासन कार्यालयको नागरिकता शाखाका कर्मचारीहरुलाई तालिम तथा अभिमुखिकरण दिएर अनलाईन सिफारिस सेवा सुरु गरेको जानकारी दिएका छन् । उनका अनुसार आईतबार देखि वडा कार्यालयबाट हुने नागरिकताको सिफारिस अनलाईनमा ईन्ट्रि गर्न अनिवार्य गरिएको छ ।
नागरिकता सेवालाई छिटो, छरितो तथा त्रुटिरहित बनाउन अनलाईन सिफारिस सेवा प्रभावकारी हुने प्रमुख जिल्ला अधिकारी कुल बहादुर जी।सी।ले बताए । उनका अनुसार एकिकृत सूचना प्रणालीको विकास, सिस्टममा अभिलेखिकरण, व्यक्तिगत विवरणको सुरक्षा लगायतको लागि पनि अनलाईन सिफारिस महत्वपूर्ण रहेको छ ।
अनलाईन सिफारिस भयो भने प्रशासन कार्यालयमा पटक पटक विवरण रुजु गर्नु नपर्ने, त्रुटि देखिएमा तत्काल सच्याउन सहज हुने र अभिलेख हराउने डर नहुने बताईएको छ । अनलाईन सिफारिस सेवाका लागि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयसँग नियमित समन्वय गरेको थियो ।
गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयका कर्मचारी र स्थानीय तहका सूचना प्रविधि अधिकृतहरुलाई प्रशिक्षण दिएको थियो भने जिल्ला प्रशासन कार्यालयले वडा सचिवहरुसँग अनलाईन मार्फत नै अभिमुखिकरण गरेको थियो । स्थानीय तहका सूचना प्रविधि अधिकृतहरुले वडा सचिवहरुको युजर आईडी र पासवर्ड बनाएर अनलाईन प्रक्रिया बारेमा सहजिकरण गरेका थिए ।
वडा कार्यालयहरुले पनि अनलाईन सिफारिस कार्य सुरु गरिसकेका छन् । मुसिकोट नगरपालिका १० का वडा अध्यक्ष धनबहादुर खड्काले नागरिकताको सिफारिस अनलाईनमार्फत सुरु गरेको बताए । यो सेवा प्रभावकारी हुने उहाँको विश्वास रहेको छ ।