कालिकोट । दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने उसु खेलाडी छनोट भएका छन् । प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट सान्दा र थाउलुतर्फ गरी २३ जना खेलाडी छनोट भएका हुन् ।
बिहीबारदेखि तीन दिनसम्म वीरेन्द्रनगरमा सञ्चालन भएको छनोट प्रतियोगिता शनिबार सम्पन्न भएको हो । प्रतियोगितामा कर्णालीका आठ जिल्लाका ६५ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । छनोट प्रतियोगितामा सुर्खेतले सर्वाधिक स्वर्णपदक जित्दै आफ्नो वर्चस्व कायम गरेको छ ।

कर्णाली प्रदेश उसु संघका अनुसार छनोट भएका २३ खेलाडीमध्ये सान्दातर्फ १५ र थाउलुतर्फ आठ जना छन् । छनोट हुनेमा १३ जना पुरुष र १० जना महिला खेलाडी रहेका छन् ।
प्रतियोगितामा सुर्खेतले सर्वाधिक १४ स्वर्णपदक जितेको छ । त्यस्तै, कालीकोटले तीन, जाजरकोटले दुई तथा दैलेख, डोल्पा, हुम्ला र जुम्लाले समान एक–एक स्वर्णपदक जितेका छन् । प्रतियोगितामा सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, डोल्पा, हुम्ला र सल्यानका खेलाडी सहभागी थिए ।
कर्णाली प्रदेश उसु संघका अध्यक्ष गोविन्दबहादुर शाहीले छनोट भएका खेलाडीले नै दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशको प्रतिनिधित्व गर्ने जानकारी दिए । अब खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर प्रतियोगिताका लागि थप तयारी गरिने उनले बताए ।
शाहीका अनुसार छनोट भएका खेलाडीलाई कात्तिक १० गतेदेखि एक महिनासम्म बन्द प्रशिक्षणमा राखिनेछ । प्रशिक्षणमार्फत खेलाडीको क्षमता अभिवृद्धि गर्दै राष्ट्रिय प्रतियोगितामा उसुबाट उत्कृष्ट नतिजा हासिल गर्ने लक्ष्य राखिएको उनले बताए ।
‘हामीले राष्ट्रिय खेलकुदका लागि २३ जना खेलाडी छनोट गरेका छौं । अब उनीहरूलाई नियमित अभ्यास गराएर उसुमा कर्णालीको राम्रो नतिजा ल्याउने प्रयास गर्नेछौं,’ अध्यक्ष शाहीले भने ।
छनोट प्रतियोगिताको समापन गर्दै कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रविन्द्र चन्दले छनोट भएका खेलाडीलाई राष्ट्रिय प्रतियोगितामा पदक जित्ने लक्ष्यसहित तयारीमा जुट्न आग्रह गरे । दसैं बिदाको समयमा पनि अभ्यासलाई निरन्तरता दिन आग्रह गर्दै उनले खेलाडीको मेहनत, अनुशासन र लगनशीलताले प्रदेशलाई उत्कृष्ट नतिजा दिलाउन सक्ने विश्वास व्यक्त गरे ।
सो अवसरमा सदस्यसचिव चन्दले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगिता सञ्चालनका लागि २० जना रेफ्री परिचालन गरिएको थियो ।
आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै छनोट भएका खेलाडीको प्रशिक्षण सुरु गर्ने तयारी गरिएको छ । प्रदेशमै आयोजना हुन लागेको राष्ट्रिय प्रतियोगितामा उसुमार्फत पदक जित्ने लक्ष्यसहित कर्णालीले तयारी अघि बढाएको छ ।






