कालीकोटको मुम्रागाउँ बन्यो सुरक्षित मातृत्वको नमुना, पाँच वर्षदेखि आमा–शिशु मृत्यु शून्य

  ।   १ पुष २०८२, मंगलवार १४:००

कालीकोट। भौगोलिक रूपमा विकट मानिने कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–८ र ९ मा पर्ने मुम्रागाउँ पछिल्लो समय स्वास्थ्य सेवा र विकासको उदाहरणीय नमुनाका रूपमा स्थापित हुँदै गएको छ। स्थानीय सरकार, स्वास्थ्यकर्मी र सहयोगी संस्थाको प्रभावकारी सहकार्यका कारण यहाँ संस्थागत सुत्केरी सेवा पूर्ण रूपमा सफल बनेको छ।

पछिल्ला पाँच वर्षयता गर्भवती महिला र नवजात शिशुको अकाल मृत्यु शून्य रहनु मुम्रागाउँको सबैभन्दा ठूलो उपलब्धि हो। त्यस्तै, पछिल्ला दुई वर्षदेखि जटिल अवस्थाका कारण हवाई उद्धारसमेत गर्नुपरेको छैन, जुन ग्रामीण भेगका लागि ऐतिहासिक उपलब्धि मानिन्छ।

मुम्रा स्वास्थ्य चौकीका प्रमुख धीरेन्द्र केसीका अनुसार चालु आर्थिक वर्षका चार महिनामै ११ जना महिलाले संस्थागत रूपमा सुत्केरी सेवा लिएका छन्। गत आर्थिक वर्षमा ४४ जना महिलाले यही स्वास्थ्य चौकीमा सुरक्षित रूपमा बच्चा जन्माएका थिए। “अहिले मुम्रागाउँमा घरमै सुत्केरी हुनेको संख्या शून्य छ,” उहाँले दाबी गर्नुभयो।

स्वास्थ्य सेवा सुदृढीकरणमा नेपाल रेडक्रस सोसाइटी कालीकोट शाखाको महत्वपूर्ण भूमिका रहेको छ। स्विस तथा ब्रिटिस रेडक्रसको सहयोगमा सञ्चालित ‘सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल’ कार्यक्रमअन्तर्गत बर्थिङ सेन्टरमा आवश्यक उपकरण, शौचालय निर्माण, खानेपानी तथा सरसफाइका पूर्वाधारमा निरन्तर सहयोग हुँदै आएको छ।

जिल्ला संयोजक भोजराज ओझाका अनुसार उक्त कार्यक्रमले ‘एक घर एक धारा’, हरित विद्यालय र सरसफाइ अभियानमा समेत उल्लेखनीय योगदान दिएको छ।
सान्नीत्रिवेणी गाउँपालिकामा हालसम्म दुई हजारभन्दा बढी धारा जडान भइसकेको गाउँपालिका सरकार प्रबक्ता रंगलाल देवकोटाले जानकारी दिनुभयो। उहाँका अनुसार गाउँपालिकालाई पूर्ण सरसफाइयुक्त घोषणा गर्ने तयारीसमेत अन्तिम चरणमा पुगेको छ।

स्वास्थ्य, सरसफाइ र सुरक्षित मातृत्वमा हासिल गरेको सफलताले मुम्रागाउँलाई केवल कालीकोटमै होइन, कर्णाली प्रदेशकै लागि प्रेरणादायी नमुना गाउँको रूपमा उभ्याएको छ। विकट भूगोल हुँदाहुँदै पनि सही नीति, साझेदारी र समुदायको सक्रियताले विकास सम्भव छ भन्ने सन्देश मुम्रागाउँले दिएको छ।

Next Post

एमाले नयाँ नेतृत्व चयनका लागि मतदान मंगलबार बेलुका ७ बजेदेखि सुरु

१ पुष २०८२, मंगलवार १४:००
काठमाडौँ । नेकपा (एमाले) को नयाँ नेतृत्व चयनका लागि हुने मतदान मंगलबार बेलुका ७ बजेदेखि सुरु हुने भएको छ। केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाका अनुसार मतदान प्रक्रिया बुधबार बिहान १ बजेसम्म सञ्चालन हुनेछ। आवश्यक परे मतदान समय थपिने सम्भावना पनि रहेको उनले जानकारी दिनुभयो। यसअघि मतदान मंगलबार दिउँसो ४ […]