काठमाडौँ । नेकपा (एमाले) को नयाँ नेतृत्व चयनका लागि हुने मतदान मंगलबार बेलुका ७ बजेदेखि सुरु हुने भएको छ। केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाका अनुसार मतदान प्रक्रिया बुधबार बिहान १ बजेसम्म सञ्चालन हुनेछ। आवश्यक परे मतदान समय थपिने सम्भावना पनि रहेको उनले जानकारी दिनुभयो।
यसअघि मतदान मंगलबार दिउँसो ४ बजेदेखि सुरु गर्ने तयारी गरिएको थियो। तर विद्युतीय भोटिङ मेसिन (ईभीएम) को प्राविधिक तयारी तथा परीक्षणमा समय लागेकाले मतदानको समय बेलुकीका लागि सारिएको हो।
निर्वाचनमा कुल ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदै छ। आयोगका अनुसार एक जना प्रतिनिधिले मतदान गर्न औसतमा २५ देखि ३० मिनेटसम्म समय लाग्ने अनुमान गरिएको छ। यही कारण २ हजार २ सय ६२ जना प्रतिनिधिको मतदान सम्पन्न गर्न लामो समय लाग्ने अपेक्षा गरिएको छ।
सुब्बाका अनुसार प्रतिनिधिहरूले निर्विरोध निर्वाचित भइसकेका उम्मेदवारबाहेकका सबै पदाधिकारीका लागि मत हाल्नुपर्नेछ। हालसम्म ११ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। बाँकी पदका लागि भने प्रत्येक प्रतिनिधिले अध्यक्षसहित कम्तीमा २ सय ९२ जनासम्मलाई मत दिनुपर्ने व्यवस्था गरिएको छ।
लामो मतदान प्रक्रिया, धेरै उम्मेदवार र विद्युतीय प्रणालीका कारण मतदान व्यवस्थापन चुनौतीपूर्ण भए पनि आयोगले प्रक्रिया सहज र पारदर्शी बनाउने तयारी गरेको जनाएको छ।







