रतन रावल ,
मुगु। जिल्लाको सोरु गाउँपालिका–१० धैनमा मानवियता र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै उल्लेखनीय सामाजिक सहयोग कार्यक्रम सम्पन्न भएको छ। नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य आशिष देवकोटाको विशेष पहल तथा किसान महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष एवं युवा नेता रत्नलाल देवकोटाको समन्वय र अगुवाइमा कार्यक्रम आयोजना गरिएको हो।
नेपाल आमा समूह अफ हेल्पिङ हेण्ड सोसाइटी, अमेरिकाको आर्थिक सहयोगमा ७० वर्षभन्दा माथिका ४० जना ज्येष्ठ आमाबुबालाई न्यानो पछ्यौरी वितरण गरिएको छ। जाडोको मौसममा स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखी गरिएको यो सहयोगले ज्येष्ठ नागरिकहरूलाई राहत पुगेको सहभागीहरूले बताएका छन्।
त्यसैगरी, शिक्षा क्षेत्रलाई सशक्त बनाउने उद्देश्यले श्री हिमालय आधारभूत विद्यालय, महादेव आधारभूत विद्यालय तथा श्री सरोज बालविकास विद्यालयमा अध्ययनरत ४५ जना गरीब, जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई विद्यालय झोला वितरण गरिएको छ। विद्यालय सामग्रीको अभावले पढाइमा असर नपरोस् भन्ने उद्देश्यले झोला सहयोग गरिएको युवा नेता रत्नलाल देवकोटाले जानकारी दिनुभयो।
देवकोटाका अनुसार, “आजको समयमा गरिबीको सबैभन्दा ठूलो मार विपन्न ज्येष्ठ नागरिक र भविष्य बोकेका विद्यार्थीहरूमा परेको छ। उनीहरूलाई लक्षित गरी सहयोग गर्न पाउनु नै हाम्रो अभियानको सार हो।” उहाँले यस क्षेत्रका जनतालाई सदैव प्राथमिकतामा राख्दै निरन्तर सेवा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
कार्यक्रम युवा नेता रत्नलाल देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। सो अवसरमा सोरु–१० का वडाध्यक्ष कुलचन्द्र जैसी, वडा जनप्रतिनिधिहरू, युवा नेता धर्मराज शाही तथा विभिन्न दलका प्रतिनिधि एवं स्थानीय व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
ज्येष्ठ नागरिकहरूलाई वडा कार्यालयमै सम्मानपूर्वक पछ्यौरी वितरण गरिएको थियो भने विद्यार्थीहरूलाई सम्बन्धित विद्यालयमै पुगेर झोला हस्तान्तरण गरिएको थियो। स्थानीयवासीहरूले यस्तो सहयोगले समुदायमा सकारात्मक सन्देश प्रवाह भएको र सामाजिक एकतामा टेवा पुगेको प्रतिक्रिया दिएका छन्।
आयोजकहरूले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाका क्षेत्रमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएका छन्।







