कालिकोट । विद्यार्थी राजनीतिबाट आफ्नो यात्रा सुरु गरेका सविनकुमार विष्ट कर्णाली जेसीज वर्ष २०२० का अध्यक्ष हुन । जेसिज अध्यक्ष हुँदै नेपाली कांग्रेस कालिकोटको जिल्ला कार्यसमिति सचिवमा निर्वाचित भएका छन्। विद्यार्थी संगठन, सामाजिक नेतृत्व र पार्टी राजनीतिमा सक्रिय विष्टको राजनीतिक यात्राले नयाँ मोड लिएको छ।
विद्यालय इकाई र क्याम्पस इकाईबाट नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय भएका विष्टले कर्णाली जेसीज वर्ष २०२० को अध्यक्षका रूपमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। सामाजिक क्षेत्रमा युवाको सहभागिता र नेतृत्व विकासका गतिविधिमा जोडिएका उनी नेपाली कांग्रेसको जिल्ला पार्टी सदस्य हुँदै जिल्ला सचिवको जिम्मेवारीमा पुगेका हुन्।
काङ्ग्रेस देउवा समुहबाट जिल्ला सचिवमा निर्वाचित भएपछि विष्टले आफूलाई विश्वास गरेर जिम्मेवारी प्रदान गर्ने नेपाली कांग्रेसका नेता–कार्यकर्ता, पार्टीमा आस्थावान, शुभचिन्तक तथा सम्पूर्ण समर्थकप्रति हार्दिक आभार व्यक्त गरेका छन्। उनले समाजसेवाको यात्रामा जनताको आशा र विश्वासलाई कमजोर हुन नदिने प्रयास निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
विष्टका लागि जिल्ला सचिवको जिम्मेवारी पार्टीको संगठन विस्तार, कार्यकर्ताबीच एकता र युवालाई पार्टीमा आकर्षित गर्ने अवसरसमेत हो। कालिकोटमा नेपाली कांग्रेसलाई थप सुदृढ, जनमुखी र गतिशील बनाउँदै जनताका समस्या तथा विकासका सवालमा प्रभावकारी भूमिका निर्वाह गर्नु उनको आगामी कार्यकालका महत्त्वपूर्ण चुनौती हुनेछन्।
विद्यार्थी राजनीति, जेसीज नेतृत्व र पार्टी संगठनमा प्राप्त अनुभवलाई जनताको सेवामा उपयोग गर्ने अवसर पाएका विष्टको आगामी भूमिकाले कालिकोटमा नेपाली कांग्रेसको संगठनात्मक गतिविधि र जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउन कस्तो योगदान पुर्याउँछ भन्ने चासो बढेको छ।






