सुर्खेत । जेनजी आन्दोलनपछि पहिलो पटक जेनजि कर्णाली २.० ले नयाँ पुस्ताको सहभागितामा संगठन पुनर्गठन र कार्ययोजना सार्वजनिक गरेको छ। आन्दोलनको मूल आत्मा संरक्षण गर्दै राष्ट्रनिर्माणमा युवापुस्ताको सक्रियता बढाउने लक्ष्यसहित यो अभियान अघि बढाइएको हो।
जेनजी आन्दोलनले नेपाली राजनीतिक इतिहासमा विशेष योगदान पुर्याएको स्मरण गर्दै वक्ताहरुले आन्दोलनको मूल्य र सिद्धान्तलाई संस्थागत गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले संवाद, सहमति र पारदर्शितामार्फत राष्ट्रिय एकता कायम गर्न सकिने विश्वास व्यक्त गरे।
घोषित प्रमुख बुँदाहरूमा जेनजी जन-आन्दोलन २०६२ को संस्थागत संरक्षण र विकास, परिवार र नेतातहमा एकता, सुशासन र पारदर्शिता, नयाँ पुस्ताको सहभागिता, भ्रष्टाचार नियन्त्रण आयोग र निर्वाचन आयोगको पुनर्गठन, संविधान संशोधन र जनमतसंग्रह जस्ता विषय समावेश छन्।
जनमतसंग्रहमा छलफलका लागि प्रस्तावित विषयहरूमा राष्ट्रपति निर्वाचित कार्यकारी प्रमुख हुने, राजा र गणतन्त्रबीचको विकल्प, प्रदेश प्रणालीको खारेजी वा सुधार, धर्म निरपेक्षता, धार्मिक स्वतन्त्रता र स्थानीय स्तरमा दलविहीन प्रतिस्पर्धा जस्ता मुद्दा रहेका छन्।
प्रदेश समितिको नेतृत्वमा डम्बर शाहलाई संरक्षक, हिक्मतजंग मल्ललाई संयोजक, मोहन् थापा (काजी) लाई सह–संयोजक र लक्ष्मी रोकायालाई प्रवक्ता तोकिएको छ। समितिमा कृषि, अर्थ, खेलकुद, स्वास्थ्य र आईटी गरी पाँच विभाग गठन गरिएका छन्।
त्यसैगरी, कर्णालीका १० वटै जिल्लामा समिति पनि गठन गरिएको छ ।
अभियानको अपिलमा सबै पक्षलाई संवाद र सहकार्यमा जोड दिँदै ‘वर्तमान संकट र भविष्यको विकास’ शीर्षकमा राष्ट्रिय बहस आरम्भ गर्न आह्वान गरिएको छ।








