जुम्ला । नयाँ वर्षको सुरुवातसँगै जुम्लामा विकास र समृद्धिु का लागि प्रतिबद्धता जनाइएको छ। नेपाल पत्रकार महासंघ, शाखा जुम्लाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेतादेखि स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकाय र पत्रकारसम्मले २०८२ लाई जुम्लाको समृद्धिको वर्ष बनाउने अठोट व्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सभा सदस्य देवेन्द्र बहादुर शाहीले जुम्लाको समृद्धिका लागि दलगत स्वार्थभन्दा माथि उठ्नुपर्ने आवश्यकता औंल्याए। “स्याउ मात्रै हैन, जुम्लाको हरेक उत्पादनलाई आर्थिक आधार बनाउनु पर्छ,” उनले भने, “प्रदेश सरकारले अझै ठोस नीति ल्याउन नसकेको भए पनि हामी प्रयासरत छौं।” उनले उर्जा, कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकता दिँदै सबै पक्ष एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।
जिल्ला समन्वय समितिका प्रमुख गौरीन्द आचार्यले कृषि क्षेत्रबाट केही उपलब्धि हासिल भए पनि पूर्वाधारमा भने सोचेजस्तो काम हुन नसकेको स्वीकार गरे। “बर्षौंदेखि अधुरो रहेका आयोजना यथास्थितिमै छन्, अब एकजुट भएर अघि बढ्नुको विकल्प छैन,” उनले स्पष्ट पारे।
पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोरा, भूमि आयोगका अध्यक्ष सुरत बहादुर शाही, कांग्रेसका उपसभापति कार्मा बुढा, एमालेका अध्यक्ष शान्तिलाल महतलगायतले नयाँ वर्षलाई अवसरको रुपमा लिएर राजनैतिक भिन्नता होइन, साझा लक्ष्यमा केन्द्रित हुनुपर्ने बताए।
कार्यक्रममा सहभागी पत्रकारहरूले विकास र सेवा प्रवाहमा देखिएका समस्याहरूको सूक्ष्म अध्ययन गर्दै निरन्तर खबरदारी गर्ने प्रतिबद्धता जनाए। पत्रकार महासंघका अध्यक्ष पूर्ण प्रसाद चौलागाईंले सुशासन, जवाफदेहिता र नागरिकको चासोका विषयमा सशक्त भूमिका खेल्ने बताउँदै २०८२ लाई ‘सुशासन वर्ष’ को रुपमा लिने सुझाव दिए।
सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान र विभिन्न कार्यालय प्रमुखहरूले पनि नयाँ वर्षको शुभकामना दिँदै विकासका लागि सहकार्य गर्ने प्रतिवद्धता जनाए ।