कर्णाली निर्माण व्यवसायी महासंघ अध्यक्षको दौडमा न्यौपाने अनुभव र नेतृत्वको बलियो दाबी

  ।   १७ श्रावण २०८३, आईतवार १०:३८

सुर्खेत। कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघको सातौँ  साधारण सभा तथा तेस्रो अधिवेशन आगामी साउन १८ र १९ गते वीरेन्द्रनगर, सुर्खेतमा हुने भएको छ।समृद्धिका लागि विकास निर्माणू भन्ने मूल नारासहित सम्पन्न हुने अधिवेशनले महासंघको नयाँ नेतृत्व चयन गर्ने भएकाले यतिबेला कर्णालीका निर्माण व्यवसायीबीच चुनावी माहोल तातिएको छ।

यसपटकको अधिवेशनमा अध्यक्ष पदका लागि कालिकोटको रास्कोट नगरपालिकाका वरिष्ठ उपाध्यक्ष भक्ति प्रसाद न्यौपाने सबैभन्दा चर्चित र बलिया आकांक्षीका रूपमा अगाडि देखिएका छन्। लामो संगठनात्मक अनुभव, निर्माण व्यवसायमा निरन्तर सक्रियता र प्रदेशस्तरीय नेतृत्वमा निर्वाह गरेको भूमिकाका कारण न्यौपानेले आफ्नो उम्मेदवारीलाई अनुभव, क्षमता र नेतृत्वको निरन्तरतासँग जोडेर प्रस्तुत गरेका छन्।

५० वर्षीय न्यौपानेले २०६८ सालदेखि निर्माण व्यवसायी संगठनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। उनले कालिकोट निर्माण व्यवसायी संघको सह–कोषाध्यक्षबाट संगठनात्मक यात्रा सुरु गरी क्षेत्रीय निर्माण व्यवसायी संघको सचिव, कर्णाली प्रदेश निर्माण व्यवसायी संघको सचिव, महासचिव हुँदै हाल वरिष्ठ उपाध्यक्ष को जिम्मेवारी सम्हालिरहेका छन्। संगठनका हरेक तहमा काम गरेको अनुभव नै आफ्नो सबैभन्दा ठूलो शक्ति रहेको उनको दाबी छ।

न्यौपानेका अनुसार कर्णालीको निर्माण क्षेत्र अन्य प्रदेशभन्दा फरक र चुनौतीपूर्ण छ। दुर्गम भौगोलिक अवस्था, ढुवानीको उच्च लागत, मौसमजन्य अवरोध, समयमै भुक्तानी नहुने समस्या, निर्माण सामग्रीको मूल्यवृद्धि तथा नीतिगत जटिलताले व्यवसायीहरू निरन्तर दबाबमा रहेको उनको भनाइ छ।

कर्णालीको निर्माण क्षेत्रलाई काठमाडौंमा बसेर बुझ्न सकिँदैन। यहाँको भूगोल, मौसम, लागत र चुनौती प्रत्यक्ष भोगेको व्यक्ति नेतृत्वमा पुग्न आवश्यक छ, न्यौपानेले भने। मैले तीन दशकभन्दा बढी समय निर्माण व्यवसाय र संगठनमा बिताएको अनुभवलाई अब कर्णालीका सम्पूर्ण व्यवसायीको हितमा प्रयोग गर्न चाहेको छु। नेतृत्व व्यक्तिगत प्रतिष्ठाका लागि होइन, व्यवसायीको अधिकार, गुणस्तरीय निर्माण र विकासको वातावरण बनाउनका लागि आवश्यक छ।

उनले आफू निर्वाचित भए निर्माण व्यवसायीको हकहित संरक्षण, समयमै भुक्तानी सुनिश्चित गर्न सरकारसँग प्रभावकारी पहल, पारदर्शी ठेक्का प्रणाली, व्यवसायीको क्षमता अभिवृद्धि, युवा निर्माण व्यवसायीलाई प्रोत्साहन तथा गुणस्तरीय पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

न्यौपानेले थपे, निर्माण व्यवसायीलाई शंकाको दृष्टिले होइन, विकास निर्माणका साझेदारका रूपमा व्यवहार गर्नुपर्छ। व्यवसायी बलियो भए मात्रै विकास निर्माणले गति लिन्छ र कर्णालीको समृद्धि सम्भव हुन्छ।

अधिवेशन नजिकिँदै जाँदा अध्यक्ष पदका लागि आन्तरिक छलफल र भेटघाट तीव्र बने पनि हालसम्म न्यौपानेबाहेक अन्य उम्मेदवारले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छैनन्। त्यसैले संगठनभित्र उनको उम्मेदवारीलाई स्वाभाविक रूपमा बलियो दाबेदारका रूपमा हेरिएको छ। यद्यपि अन्तिम प्रतिस्पर्धा कस्तो हुने वा सर्वसम्मत नेतृत्व चयन हुने भन्ने विषय उम्मेदवारी दर्तापछि मात्र स्पष्ट हुनेछ।

निर्माण व्यवसायीहरूको बुझाइमा यसपटकको नेतृत्व चयनले महासंघको भावी कार्यदिशा मात्रै होइन, कर्णाली प्रदेशका विकास निर्माण आयोजना, व्यवसायीको अधिकार संरक्षण, सरकारसँगको समन्वय तथा पूर्वाधार विकासको गतिमा समेत दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Next Post

कविता - बहुरङ्गी भेटिन्छन्

१७ श्रावण २०८३, आईतवार १०:३८
 कविता – बहुरङ्गी भेटिन्छन् कोही बहुत वजनदार भेटिन्छन् कोही हलुङ्गा भेटिन्छन् कोही त अझ बेस्सरी बहुरङ्गी भेटिन्छन् भेटी रहन्छन् उस्तै उस्तै भेटी रहन्छन् कतिबेला को भेटिन्छन् कोही असाध्यै सोझा भेटिन्छन् मनकारी भेटिन्छन् दिलदार भेटिन्छन् कहिलेकाही त आफ्नै भन्नेहरु भेटिन्छन् हुन्छन् जन्ती जस्ता छिनमै मलामी जस्ता भइ दिन्छन् कोही त कतै […]