कालिकोट । शुभकालिका गाउँपालिकामा पहिलोपटक ‘प्रथम शुभकालिका गोल्डकप तथा स्थानीय सांस्कृतिक प्रवर्द्धन कार्यक्रम–२०८३’ आयोजना हुने भएको छ। खेलकुद, संस्कृति र एकतालाई जोड दिँदै आगामी कात्तिक १८ गतेदेखि २२ गतेसम्म शुभकालिका गाउँपालिका–७, कोट, कालिकोटमा गोल्डकप आयोजना गर्न लागिएको हो।
शुभकालिका गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगितामा खुला फुटबल तथा वडा स्तरीय भलिबल प्रतियोगितासँगै स्थानीय सांस्कृतिक कार्यक्रम समेत सञ्चालन गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा हुड्के नाच, स्थानीय देउडा, बालबालिकाको नृत्य तथा विभिन्न मनोरञ्जनात्मक खेलहरू प्रस्तुत गरिनेछन्।
आयोजकका अनुसार खुला फुटबल प्रतियोगिताको विजेताले रु. ८० हजार र उपविजेताले रु. ४० हजार पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, खुला वडा स्तरीय भलिबल प्रतियोगितामा पनि विजेतालाई रु. ८० हजार र उपविजेतालाई रु. ४० हजार पुरस्कारको व्यवस्था गरिएको छ। दुवै विधाका उत्कृष्ट खेलाडी, गोलरक्षक, गोलकर्ता, डिफेन्डर, स्पाइकर, लिब्रो लगायतका खेलाडीलाई समेत विभिन्न विधामा सम्मान गरिने आयोजकले जनाएको छ।
गोल्डकपलाई केवल खेल प्रतियोगिताका रूपमा नभई स्थानीय प्रतिभाको पहिचान, खेलाडीको प्रोत्साहन, संस्कृति संरक्षण र सामाजिक एकता मजबुत बनाउने अभियानका रूपमा अघि बढाउन खोजिएको शुभकालिका गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष विनोद शाहीले बताए ।
अध्यक्ष शाहीका अनुसार प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न विभिन्न जिम्मेवारीसमेत बाँडफाँड गरिएको छ। प्रतियोगितासँग सम्बन्धित जिम्मेवारीमा रहेका सबैलाई आपसी समन्वय, अनुशासन र पारदर्शिता कायम गर्दै जिम्मेवारी पूरा गर्न निर्देशन दिइएको छ।
“यो केवल प्रतियोगिता होइन, शुभकालिकाको खेलकुद, संस्कृति र पहिचानलाई एउटै मञ्चमा जोड्ने अवसर हो,” अध्यक्ष शाहीले भने, “स्थानीय खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर दिनुका साथै यहाँको मौलिक कला, संस्कृति र परम्परालाई पनि व्यापक रूपमा चिनाउने हाम्रो उद्देश्य हो।”
आयोजकले प्रतियोगिताको मितिसँग नजुध्ने गरी सोही समयमा अन्य कार्यक्रम आयोजना नगर्न सम्बन्धित सबैलाई अनुरोधसमेत गरेको छ। खेलाडी, खेलप्रेमी, स्थानीय बासिन्दा तथा सम्पूर्ण शुभेच्छुकलाई कार्यक्रममा सहभागी भई सफल बनाउन आग्रह गरिएको छ।
गाउँपालिकाको खेलकुद विकाससँगै स्थानीय संस्कृतिको संरक्षण र प्रवर्द्धनलाई समेत प्राथमिकतामा राखेर आयोजना गर्न लागिएको गोल्डकपले शुभकालिकामा खेलकुदमार्फत नयाँ पुस्तालाई जोड्ने र स्थानीय पहिचानलाई राष्ट्रियस्तरसम्म पुर्याउने अपेक्षा गरिएको छ।








