स्थानीय कर्मचारी क्रिकेट कप २०८२ सम्पन्न, मुगु विजेता र कालिकोट उपविजेता

  ।   ५ माघ २०८२, सोमबार २२:४६

सुर्खेत । सुर्खेतमा आयोजना गरिएको स्थानीय कर्मचारी क्रिकेट प्रतियोगिता २०८२ सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा मुगु जिल्ला बिजेता र कालिकोट जिल्ला उपबिजेता बन्न सफल भएका छन्।

फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मुगुले १२३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। लक्ष्य पछ्याउने क्रममा कालिकोट निर्धारित रन पूरा गर्न नसकी अलआउट भएपछि खेलमा मुगुले कालिकोटलाई ४२ रनले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेका थिए।

समापन समारोहमा सभाध्यक्ष तथा स्थानीय कर्मचारी सेवा सञ्जालका संयोजक बिक्रम शाहीले प्रतियोगिता सफलतापूर्वक सम्पन्न हुनु सबै सहभागी टिम, आयोजक, समन्वयकारी निकाय र खेलाडीहरूको सहयोगका कारण सम्भव भएको बताउनुभयो।

उहाँले भन्नुभयो, “खेलकुदले कर्मचारीहरूबीच आपसी सद्भाव, अनुशासन र टिम भावना विकास गर्छ। कर्णाली प्रदेशमा क्रिकेटको विकास र कर्मचारीभित्र लुकेको प्रतिभा उजागर गर्न यस्ता प्रतियोगिता निरन्तर गरिने बताउनुभयो ।”

स्थानीय कर्मचारी सेवा सञ्जालको आयोजनामा तथा स्थानीय तह कर्मचारी युनियन नेपाल र कर्णाली प्रदेश क्रिकेट संघ नेपालको समन्वयमा बिरेन्द्रनगरमा माघ १ गतेदेखि ५ गतेसम्म प्रतियोगिता सञ्चालन गरिएको थियो।

समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सामाजिक विकास मन्त्री घनश्याम भण्डारी सहभागी रहनुभएको थियो। उहाँले प्रतियोगिताले कर्मचारीलाई शारीरिक रूपमा सक्रिय राख्नुका साथै कर्णालीमा खेलकुद संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो।

कार्यक्रम सञ्चालन स्थानीय कर्मचारी सेवा सञ्जालका सहसचिव हरि प्रसाद भट्टराईले गर्नुभएको थियो। आयोजकले सहभागी सबै टिम तथा विजेता–उपबिजेता खेलाडीहरूलाई बधाई दिँदै आगामी दिनमा अझ व्यवस्थित प्रतियोगिता आयोजना गरिने जनाएको छ।

Next Post

मुगुमा ७ दलका उम्मेदवारको उम्मेदवारी दर्ता

५ माघ २०८२, सोमबार २२:४६
रतन रावल मुगु । एक मात्र निर्वाचन क्षेत्र रहेको मुगु जिल्लामा आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ७ राजनीतिक दलका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन्। बिहान ११ बजेदेखि सुरु भएको दर्ता प्रक्रियामा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी केन्द्र, प्रलोपा र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार […]

सम्बन्धित शीर्षक