रतन रावल
मुगु । एक मात्र निर्वाचन क्षेत्र रहेको मुगु जिल्लामा आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ७ राजनीतिक दलका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन्।
बिहान ११ बजेदेखि सुरु भएको दर्ता प्रक्रियामा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी केन्द्र, प्रलोपा र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सहभागी भएका हुन्।
उम्मेदवारी दर्ता गर्नेमा नेपाली कांग्रेसबाट खड्क बहादुर शाही, एमालेबाट पूर्ण बहादुर रोकाया, नेकपाबाट चन्द्र बहादुर शाही, रास्वपाबाट भुवन टमटा, माओवादी केन्द्रबाट रंगविर परियार, प्रलोपा बाट ऐटन मल्ल र राप्रपाबाट बल बहादुर मल्ल रहेका छन्।
पछिल्लो समय मुगुको चुनावी माहोल प्रतिस्पर्धात्मक बनेको छ। यसअघि प्रदेश मन्त्री भइसकेका चन्द्र बहादुर शाहीले संघीय प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएसँगै चुनाव थप चासोपूर्ण बनेको छ।
उम्मेदवारी दर्तापछि उम्मेदवारहरूले मुगुको आर्थिक, सामाजिक, पर्यटन, कृषि तथा जलविद्युत् विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्। रारा क्षेत्रलाई विशेष आर्थिक क्षेत्रका रूपमा विकास गर्ने एजेन्डा समेत अघि सारिएको छ।







