सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सुर्खेत निर्वाचन क्षेत्र नं. २ मा रमेशकुमार सापकोटाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।
मंगलबार दिउँसो करिब पौने २ बजे सापकोटा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन्। निर्वाचन कार्यालय परिसरमा रास्वपाका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको उपस्थिति देखिएको थियो ।
सापकोटाको यो पहिलो संसदीय निर्वाचन उम्मेदवारी हो। लामो समयदेखि सामाजिक तथा सार्वजनिक सरोकारका विषयमा सक्रिय रहँदै आएका उनी वैकल्पिक राजनीतिमार्फत सुर्खेत–२ का मतदाताको विश्वास जित्ने दाबी गर्दै मैदानमा उत्रिएका छन्।
उनको उम्मेदवारी प्रस्तावकमा रविन्द्रकुमार पौडेल रहेका छन् भने समर्थकको रूपमा मदनकुमार खड्काले हस्ताक्षर गरेका छन्।
रास्वपाले पारदर्शिता, जवाफदेहिता र सुशासनलाई मुख्य एजेन्डा बनाएर उम्मेदवार अघि सारेको बताउँदै आएको छ। सापकोटाको उम्मेदवारीसँगै सुर्खेत–२ को निर्वाचन प्रतिस्पर्धा थप चासोको विषय बनेको छ।







