सुर्खेत । कर्णाली प्रदेश स्थापना दिवस–२०८३ विभिन्न कार्यक्रमसहित वीरेन्द्रनगरमा मनाइएको छ। मुख्यमन्त्री मंगलबहादुर शाहीको अध्यक्षता तथा प्रदेश प्रमुख यज्ञराज जोशीको प्रमुख आतिथ्यतामा आयोजित समारोहमा कर्णालीको विकास, प्राकृतिक स्रोतको उपयोग र समृद्धिका विषयमा जोड दिइएको छ।
समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख जोशीले कर्णालीलाई सधैँ समस्याग्रस्त क्षेत्रका रूपमा हेर्ने सोच बदल्नुपर्ने बताए। पर्याप्त सम्भावना हुँदाहुँदै पनि राज्यको प्राथमिकतामा कर्णाली पछाडि परेको भन्दै उनले विकास र समृद्धिका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।
उनले दैलेखमा पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्यासको सम्भावना पुष्टि भइसकेकाले उत्खनन प्रक्रिया तत्काल अघि बढाउन संघीय सरकार गम्भीर बन्नुपर्ने बताए। कर्णालीका प्राकृतिक स्रोतलाई उपयोग गर्न सके प्रदेश मात्र नभई मुलुककै समृद्धिमा योगदान पुग्ने उनको भनाइ थियो।
पूर्वमुख्यमन्त्री यामलाल कँडेलले भने प्रदेश सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै सरकारको उपस्थिति प्रभावकारी देखिनुपर्ने धारणा राखे। उनले पछिल्लो समय देखिएका राजनीतिक तथा सामाजिक घटनामा सरकारको भूमिका अझ जिम्मेवार र प्रभावकारी हुनुपर्ने बताए।
मुख्यमन्त्री मंगलबहादुर शाहीले कर्णालीको वास्तविक अवस्था परिवर्तन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। कर्णालीको समृद्धि साझा प्रयासबाट मात्रै सम्भव हुने भन्दै उनले प्रदेश सरकारलाई सहयोग गर्न सबै पक्षसँग आग्रह गरे।
कर्णाली प्रदेश स्थापनाका लागि भएको आन्दोलनका क्रममा चार जनाले ज्यान गुमाएका थिए। उनीहरूको योगदानको स्मरण गर्दै स्थापना दिवसमा अमर शहीदहरूप्रति श्रद्धासुमन अर्पण गरिएको छ।
कर्णाली प्रदेश स्थापनार्थ योगदान पुर्याउने सबैप्रति सम्मान व्यक्त गर्दै स्थापना दिवसका अवसरमा प्रदेशवासीलाई शुभकामना दिइएको छ।






