अपडेट

कर्णाली प्रदेशसभाको सचिवमा डा. अर्जुनकुमार खड्का नियुक्त

  ।   १५ बैशाख २०८३, मंगलवार २१:२०

सुर्खेत । कर्णाली प्रदेशसभा सचिवालयको सचिवमा डा. अर्जुनकुमार खड्का नियुक्त भएका छन् । सभामुख नन्दा गुरुङले उनलाई प्रदेशसभाको सचिवमा नियुक्त गरेकी हुन्।

नवनियुक्त सचिव खड्काले मंगलबार सभामुख गुरुङसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । सपथ ग्रहणलगत्तै उनले पदभारसमेत ग्रहण गर्दै प्रदेशसभा सचिवालयको प्रशासनिक तथा कानुनी जिम्मेवारी सम्हालेका छन्।

नेपाल सरकारका पूर्व सहसचिवसमेत रहेका खड्का ओखलढुंगाको सिद्धिचरण नगरपालिका–९ का स्थायी बासिन्दा हुन्। संघीय संसद सचिवालयमा करिब पाँच वर्ष कानुनी सहसचिवको रूपमा कार्य अनुभव बटुलेका उनले करिब ४० वर्ष लामो अवधिसम्म कानुन र न्याय क्षेत्रमा सक्रिय योगदान दिएका छन्।

कानुन विषयमै विद्यावारिधि ( PHD)गरेका खड्काले सिङ्गापुरबाट सार्वजनिक प्रशासन विषयमा स्नातकोत्तर गरेका छन्। नेपालको संविधान निर्माण प्रक्रियाका क्रममा मस्यौदा समितिमा रही उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

त्यसैगरी, २०७४ सालमा कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन सञ्चालनका क्रममा उनले एक सातासम्म निरन्तर प्रदेशसभामा बसेर बैठक सञ्चालनको सहजीकरण गरेका थिए, जसलाई प्रदेशसभा व्यवस्थापनमा उनको समर्पण र दक्षताको उदाहरणका रूपमा लिइन्छ।

नवनियुक्त सचिव खड्काले प्रदेशसभाको कामकारबाहीलाई अझ प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, कानुनी परामर्श, विधायन प्रक्रिया सुदृढीकरण तथा प्रशासनिक सुधारमार्फत प्रदेशसभालाई सशक्त बनाउने लक्ष्यसहित काम गर्ने उनको भनाइ छ।

Next Post

कर्णालीमा नागरिक समाज प्लेटफर्म गठन-GEDSI उत्तरदाहि DRRM प्रवर्द्धनमा जोड

१५ बैशाख २०८३, मंगलवार २१:२०
सुर्खेत । कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन  (DRRM)लाई लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) सँग जोड्दै प्रभावकारी बनाउन नागरिक समाज संस्था प्लेटफर्म गठन गरिएको छ। SAC नेपालको संयोजकत्वमा ११ सदस्यीय कार्यसमिति गठन गर्दै उक्त प्लेटफर्म स्थापना गरिएको हो। प्लेटफर्मले नागरिक समाज संस्था, सरकारी निकाय तथा अन्य सरोकारवालाबीच […]