रुकुम पश्चिम । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं सरकारका प्रवक्ता कल्याणी खड्का र भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोकाको सहभागितामा डिभिजन वन कार्यालय रुकुम पश्चिमले वन तथा भौतिक पूर्वाधारसम्बन्धी गतिविधिबारे छलफल तथा जानकारी लिएको छ।

डिभिजन वन कार्यालयले आयोजना गरेको कार्यक्रममा जिल्लाको वन क्षेत्रको वर्तमान अवस्था, वन संरक्षण तथा व्यवस्थापन, वन अतिक्रमण, डढेलो नियन्त्रण, वातावरण संरक्षण र वन क्षेत्रसँग सम्बन्धित चुनौती तथा सम्भावनाबारे जानकारी लिइएको हो।

कार्यक्रममा डिभिजन वन प्रमुख तथा जिल्लास्थित सब–डिभिजन वन कार्यालयका प्रमुखहरूसँग छलफल गर्दै मन्त्री खड्काले वन क्षेत्रको संरक्षणसँगै विकास निर्माणका कामलाई वातावरणमैत्री ढंगले अघि बढाउनुपर्ने बताइन्। वन क्षेत्रभित्र अतिक्रमण गरी भौतिक पूर्वाधार निर्माण गर्ने कार्यलाई नियन्त्रण गर्न र विकास आयोजनाका क्रममा वन तथा वातावरणमा पर्ने प्रभावलाई विशेष ध्यान दिन उनले निर्देशन दिइन्।
वन अतिक्रमण, वन डढेलो, वातावरणीय क्षति तथा वन क्षेत्रमा देखिएका अन्य समस्याप्रति प्रदेश सरकारको ध्यान गएको उल्लेख गर्दै मन्त्री खड्काले वन संरक्षण र दिगो व्यवस्थापनका लागि स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरी प्रभावकारी काम गर्नुपर्ने बताइन्।
त्यस्तै, भौतिक पूर्वाधार निर्माणका क्रममा वन क्षेत्र र प्राकृतिक स्रोतमा अनावश्यक क्षति हुन नदिन तथा नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन रोक्न सम्बन्धित निकायलाई सचेत गराइएको छ। नदी, वन र वातावरण संरक्षणलाई बेवास्ता गरेर गरिने विकास दीर्घकालीन रूपमा समस्या बन्न सक्ने भन्दै योजनाबद्ध रूपमा काम गर्नुपर्नेमा जोड दिइएको थियो।
छलफलमा वन कर्मचारीको सुरक्षा, वन क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण, जंगली जनावरबाट हुने मानव तथा पशुधनमाथिको आक्रमण न्यूनीकरण, वन्यजन्तु संरक्षण तथा स्थानीय समुदायको सहभागिताका विषयमा समेत छलफल भएको थियो।
कार्यक्रममा मन्त्रीद्वयले जिल्लाको वन तथा भौतिक पूर्वाधार क्षेत्रका समस्या, सम्भावना र आवश्यकताबारे सम्बन्धित कर्मचारीबाट जानकारी लिँदै कानुनअनुसार वन संरक्षण र विकास निर्माणका कामलाई सँगसँगै अघि बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका थिए।







