कालीकोट । रास्कोट नगरपालिकाले आयोजना गरेको दोस्रो मेयर कप खेलकुद प्रतियोगिता भोलिदेखि अर्थात् असोज २८ गतेदेखि सुरु हुँदैछ। जिल्लाभित्रका तीन नगरपालिका र छ वटा गाउँपालिकाका टोलीले यस प्रतियोगितामा सहभागिता जनाउने भएका छन्। प्रतियोगिता पुरुष तथा महिला दुवै समूहमा क्रिकेट र भलिबल खेलमा केन्द्रित हुनेछ।
११ लाख रुपैयाँको अनुमानित लागत
कार्यक्रम संयोजक तथा नगर खेलकुद समिति अध्यक्ष गणेश शाहीका अनुसार प्रतियोगिता सञ्चालनका लागि करिब ११ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
उनका अनुसार प्रतियोगिताले जिल्लाको खेलकुदको स्तर उकास्नुका साथै खेलाडी उत्पादन, आपसी सद्भाव र स्वस्थ जीवनशैली प्रवर्द्धनमा योगदान पुर्याउनेछ।
आकर्षक पुरस्कार राशी
पुरुष क्रिकेटतर्फ विजेता टोलीले १ लाख रुपैयाँ, उपविजेताले ६० हजार रुपैयाँ, र तृतीय हुने टोलीले ४० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
त्यसैगरी महिला भलिबलतर्फ विजेता टोलीका लागि ८० हजार रुपैयाँ, उपविजेता टोलीका लागि ३० हजार रुपैयाँ, र तृतीय टोलीका लागि १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ।
नगरप्रमुख धर्मराज शाही (पोषण) का अनुसार खेलकुदबाट विकास र एकताको सन्देश रहेको बताए । मेयर कपको उद्देश्य केवल प्रतिस्पर्धा सीमित नभई युवामा सकारात्मक सोच, अनुशासन र सामुदायिक एकता विकास गर्नु हो। उनले भने, “हामीले खेललाई मनोरञ्जन मात्र होइन, विकास र सामाजिक एकताको माध्यमका रूपमा लिएका छौं। यो प्रतियोगिताले जिल्लाको प्रतिष्ठा र पहिचान बढाउनेछ।”
नगर उप–प्रमुख बरालको भनाइ “खेलकुद शिक्षा र विकासको मेरुदण्ड”
नगर उप–प्रमुख मनिराज बरालले खेलकुदलाई शिक्षा र विकाससँग जोडिएको मेरुदण्डका रूपमा परिभाषित गर्नुभयो।
उनका अनुसार नगरपालिकाले आगामी दिनमा विद्यालयदेखि समुदायस्तरसम्म नियमित खेलकुद कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ।
बरालले भने, “हाम्रो लक्ष्य युवाहरूलाई खेलकुदमा आकर्षित गरेर उनीहरूको क्षमता उजागर गर्नु हो। खेलले आत्मविश्वास बढाउँछ, नेतृत्व सीप सिकाउँछ र समाजमा सकारात्मक सोच फैलाउँछ।” उनले थपे, रास्कोट नगरपालिकाले खेलमैदान सुधार, उपकरण व्यवस्थापन र खेलाडी तालिमका लागि पनि छुट्टै कोष स्थापना गर्ने तयारी गरिरहेको छ।
खेलकुद र विकासको संगम
रास्कोट नगर खेलकुद समितिले प्रतियोगिताले जिल्लाभरका खेलप्रेमीहरूलाई एकताबद्ध गराउने विश्वास व्यक्त गरेको छ। स्थानीय विद्यालय, सामुदायिक संस्था र युवाहरूको सक्रिय सहभागिताले प्रतियोगिताको आकर्षण अझ बढाउने अपेक्षा गरिएको छ। आयोजकका अनुसार यो प्रतियोगिताले रास्कोटलाई खेलकुद केन्द्रका रूपमा स्थापित गर्ने, साथै जिल्लाको पर्यटन, सामाजिक समृद्धि र आर्थिक सञ्जीवनमा समेत योगदान पुर्याउनेछ। दोस्रो मेयर कप खेलकुद प्रतियोगिता असोज २८ गतेदेखि ३२ गतेसम्म सञ्चालन हुनेछ।
खेलकुदसँगै सांस्कृतिक कार्यक्रम
कार्यक्रमको उद्घाटनमा खेलकुदसँगै सांस्कृतिक कार्यक्रम पनि रहने छ । चर्चित कलाकार ध्रमेन्द्र सुनार र बाल कलाकार प्रशान्त सुनारको विशेष प्रस्तुति रहनेछ। साथै, स्थानीय कलाकारहरूले प्रस्तुत गर्ने रास्कोटको मौलिक नृत्य, लोकगीत र सांगीतिक कार्यक्रमहरूले उद्घाटन समारोहलाई झनै आकर्षक बनाउने जनाइएको छ।







