रसुवा बाढीपछि कालीकोटका ६ नागरिक सम्पर्कविहीन, खोजी तथा उद्धारका लागि समन्वय तीव्र

  ।   १४ भाद्र २०८३, आईतवार १८:५६

कालीकोट । रसुवा लगायतका जिल्लामा २०८३ भदौ १० गते बिहान आएको विनाशकारी बाढीका कारण कालीकोट जिल्लाका ६ जना नागरिक सम्पर्कविहीन भएका छन्। रोजगारी तथा व्यवसायका सिलसिलामा रसुवामा रहेका उनीहरू बाढीपश्चात् परिवार तथा स्थानीय प्रशासनको सम्पर्कमा नआएपछि जिल्ला प्रशासन कार्यालय कालीकोटले उनीहरूको नामावलीसहित विवरण सार्वजनिक गरेको हो।

जिल्ला प्रशासन कार्यालय कालीकोटले जारी गरेको सूचनाअनुसार सम्पर्कविहीन हुनेहरूमा पलाँता गाउँपालिका वडा नं. २ का २२ वर्षीय लक्ष्मण परियार रहेका छन्। उनी रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नं. ३ मा जागिरको सिलसिलामा रहेका थिए।

त्यस्तै, नरहरिनाथ गाउँपालिका वडा नं. १ स्थायी घर भएका २८ वर्षीय अनिपाल विष्ट र २४ वर्षीय धीरेन्द्र विष्ट पनि सम्पर्कविहीन छन्। उनीहरू रसुवाको माथिल्लो त्रिशूली–३ जलविद्युत् आयोजनामा सवइन्जिनियरका रूपमा कार्यरत रहेको जनाइएको छ।

बाढीपछि सम्पर्कविहीन हुनेमध्ये खाँडाचक्र नगरपालिका वडा नं. ५ का एकै परिवारका तीन सदस्य पनि रहेका छन्। २८ वर्षीया सरिता मल्ल, जो रसुवाको टिमुरेस्थित हेल्थपोस्टमा कार्यरत थिइन्, उनका ४ महिनाका छोरा काव्य शाही तथा सरिताकी २४ वर्षीया नन्द दुर्गाकुमारी शाही हालसम्म सम्पर्कमा नआएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले सम्पर्कविहीन नागरिकहरूको अवस्था पत्ता लगाउन तथा उनीहरूको शीघ्र खोजी र उद्धारका लागि रसुवाको स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय भइरहेको बताएका छन्।

बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेकाले सम्पर्कविहीन कालीकोटका नागरिकहरूको अवस्थाबारे यथासक्य चाँडो जानकारी प्राप्त हुने अपेक्षा गरिएको प्रशासनले जनाएको छ। परिवारजनले भने आफ्ना आफन्त सकुशल फर्किने आशामा उद्धार तथा खोजी कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

Next Post

भोटेकोशीको महाविपत्तिः ७३४ शव फेला, २ हजार ४९८ अझै बेपत्ता

१४ भाद्र २०८३, आईतवार १८:५६
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय क्षति पुर्‍याएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार बिहानसम्म सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीमा परी ७३४ जनाको शव फेला परेको छ भने २ हजार ४९८ जना अझै सम्पर्कविहीन छन्। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियान तीव्र […]