सुर्खेत। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाही ले पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै पदभार सम्हाल्दै विकास निर्माण, सेवा प्रवाह र विपद् व्यवस्थापनलाई केन्द्रमा राखेर तीन महत्त्वपूर्ण निर्णय गरेका छन्।
प्रदेश प्रमुखबाट शपथ लिएपछि मुख्यमन्त्री शाहीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्। पदभार सम्हालेलगत्तै उनले प्रदेश सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउने उद्देश्यसहित तीन प्राथमिक निर्णय गरेका हुन्।
मुख्यमन्त्री शाहीको पहिलो निर्णयअनुसार प्रदेश सरकारअन्तर्गत सञ्चालित विकास आयोजनाको प्रगति सहज रूपमा अनुगमन गर्न आयोजना ट्र्याकिङ सिस्टमु स्थापना गरिनेछ। उक्त प्रणालीमार्फत आयोजनाको वास्तविक अवस्था, प्रगति र कार्यान्वयनको नियमित निगरानी गर्न सकिने विश्वास सरकारले लिएको छ।
दोस्रो निर्णयमा प्रदेश सरकारको सेवा प्रवाहलाई थप छिटो, प्रभावकारी र प्रविधिमैत्री बनाउन शासकीय सुधारका लागि नवीन तथा नवप्रवर्तनमुखी औजारको प्रयोग गरी आवश्यक नीति निर्माण र कार्यान्वयन प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ। यसबाट प्रशासनिक कार्यसम्पादनमा पारदर्शिता, जवाफदेहिता र नागरिकमैत्री सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य राखिएको छ।
त्यस्तै, तेस्रो निर्णयमार्फत मुख्यमन्त्री शाहीले विपद् जोखिम न्यूनीकरण र प्रभावकारी प्रतिकार्यलाई उच्च प्राथमिकतामा राखेका छन्। संघीय सरकार, स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गर्दै क्विक रेस्पोन्स प्रणाली सहित विपद् व्यवस्थापन संयन्त्रलाई थप सुदृढ बनाउने निर्णय गरिएको छ। प्राकृतिक विपद्का दृष्टिले संवेदनशील कर्णालीमा पूर्वतयारी र शीघ्र प्रतिकार्य क्षमता अभिवृद्धि गर्नु सरकारको प्राथमिकता रहने जनाइएको छ।
पदभार ग्रहणसँगै मुख्यमन्त्री शाहीले विकास आयोजनाको प्रभावकारी कार्यान्वयन, सुशासनको प्रवर्द्धन र नागरिकले प्रत्यक्ष अनुभूति गर्ने सेवा प्रवाहमा सुधारलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकता बनाउने संकेत दिएका छन्। अब मन्त्रिपरिषद् विस्तारसँगै यी निर्णय कार्यान्वयनको चरणमा कसरी अघि बढ्छन् भन्ने विषयमा आम नागरिकको चासो केन्द्रित भएको छ।






