कालिकोट । जिल्लाको खाँडाचक्रमा बृहत् देउडा कार्यक्रम आयोजना गरिने भएको छ। मौलिक पहिचान, भाषा र सांस्कृतिक धरोहरको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले देउडा संस्कृति संरक्षण प्रतिष्ठानको आयोजनामा साउन १ र २ गते जिल्ला समन्वय समितिको खुला मञ्च, मान्ममा उक्त कार्यक्रम हुन लागेको हो।
प्रतिष्ठानले देउडालाई स्थानीय पहिचानको आधारका रूपमा लिएर संरक्षण अभियानमा होमिएको बताएको छ। यही सन्दर्भमा आयोजना गरिएको दुईदिने बृहत् देउडा कार्यक्रममा कालिकोट लगायत कर्णालीका विभिन्न स्थानका वरिष्ठ र नवोदित देउडा सर्जकहरूको बाक्लो उपस्थिति रहनेछ।
कार्यक्रममा पुरुष तर्फ नेत्रराज शाही, पुष्पराज आचार्य, जसी प्रसाद पाण्डे, कलबहादुर शाही, बलिराम देवकोटा, मणिराम पाण्डे, खड्गराज सेजुवाल, लङ्कबहादुर शाही, गोरखबहादुर शाही, सरोज बोगटी, टक्कबहादुर बम, दुर्गबहादुर शाही, ज्ञानबहादुर शाही, विजय सेजुवाल, रामप्रसाद पाण्डे, लक्ष्मण शाही, खडानन्द चौलागाईं, पूरिचन्द्र चौलागाई लगायत दर्जनौं पुरुष देउडा सर्जकहरूले आफ्नो सिर्जनात्मक प्रस्तुति दिने छन्।
त्यस्तै, महिला तर्फ अभिनता शाही, सुनसरा शाही, निरु देवकोटा, प्रेरणा बिक, जनपुरा बराल, बेला रोकाया, शारदा अधिकारी, लालचन्दा पाण्डे,सिर्जना शाही, राधिका देवकोटा, धर्मा देवकोटा, सुस्मिता बिष्ट, अमृता सहकारी, भैपुरा बम शाही, पुतला शाहीलगायत दर्जनौं महिला देउडा सर्जकहरूको समेत सहभागिता रहनेछ।
देउडा संस्कृति संरक्षण समिति कालिकोटका अध्यक्ष भानुप्रभात पाण्डेले भन्नुभयो, “स्थानीय मौलिक संस्कृति लोप हुँदै गइरहेका बेला देउडालाई जगेर्ना गर्दै नयाँ पुस्तासम्म पुर्याउने हाम्रो उद्देश्य हो। यस कार्यक्रमले साहित्य, संगीत र लोकसंस्कृतिको साझा चाडको स्वरूप लिनेछ।”
कार्यक्रममा देउडा गीत, नृत्य, कविता वाचन, समूह प्रस्तुति र मौलिक पहिरनको झलक दिने विविध सांस्कृतिक गतिविधिहरू हुने आयोजकले जनाएको छ।
साउन १ र २ गते हुने यो कार्यक्रमले कालिकोटमा सांस्कृतिक चेतना र सृजनात्मकताको नवीन ऊर्जा थप्ने विश्वास गरिएको छ। आयोजकले सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई मौलिक देउडा संस्कृतिमा सहभागी हुन आग्रह गरेको छ।