मुगु । मुगुको प्रसिद्ध रारा ताल भ्रमणका क्रममा एक महिला पर्यटकको दुःखद निधन भएको छ। काठमाडौं महानगरपालिकाकी ३० वर्षीया सदीक्षा घिमिरेको उपचारका क्रममा शुक्रबार बिहान ७स्२५ बजे जिल्ला अस्पताल मुगुमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।
घिमिरे चैत ३ गते आफ्ना दुई साथी—बाँकेका शिशिर कोइराला र विशाल सुवेदीसँग रारा क्षेत्र घुम्न आएकी थिइन्। उनीहरू सल्लेरीस्थित ‘डाफे’ होटलमा बस्दै आएका थिए।
भ्रमणकै क्रममा अचानक स्वास्थ्य समस्या देखिएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल मुगु लगिएको थियो। प्रारम्भिक रूपमा लेक लाग्ने (उच्च पहाडी रोग) कारण मृत्यु भएको आशंका गरिएको भए पनि वास्तविक कारण पोस्टमार्टम रिपोर्टपछि मात्रै स्पष्ट हुने चिकित्सकहरूले बताएका छन्।
घटनापछि मृतकका आफन्तसँग हालसम्म सम्पर्क हुन सकेको छैन भने उनको मोबाइल र अन्य व्यक्तिगत सामान भने होटलमै रहेको जनाइएको छ।







