समावेशी प्रतिनिधित्वसहित प्रदेशस्तरीय युवा सञ्जाल गठन

  ।   २२ जेष्ठ २०८३, शुक्रबार ०७:११

कर्णाली प्रदेश युवा सम्मेलन सम्पन्न १५ सदस्यीय युवा नागरिक मञ्च गठन, ९ बुँदे घोषणापत्र जारी

सुर्खेत । कर्णाली प्रदेशका युवाहरूको नेतृत्व विकास, नीतिगत सहभागिता र समृद्ध कर्णाली निर्माणको उद्देश्यसहित आयोजित दुईदिने ‘कर्णाली प्रदेश युवा सम्मेलन–२०८३’ वीरेन्द्रनगर, सुर्खेतमा सम्पन्न भएको छ। सम्मेलनले भावना शाहीको संयोजकत्वमा १५ सदस्यीय कर्णाली प्रदेश युवा नागरिक मञ्च गठन गर्नुका साथै युवाका साझा सरोकार समेटिएको ९ बुँदे घोषणापत्र जारी गरेको छ।

गैरसरकारी संस्था महासंघ नेपाल ९गैसस महासंघ० कर्णाली प्रदेशको आयोजना तथा युवा अभियान नेपालको सहकार्यमा जेठ २० र २१ गते सम्पन्न सम्मेलनमा कर्णाली प्रदेशका १० वटै जिल्लाबाट करिब ८५ जना युवाको सहभागिता रहेको थियो।

विकासमा युवाको सक्रिय भूमिका आवश्यक स् प्रदेश प्रमुख
सम्मेलनको उद्घाटन गर्दै कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले युवाहरूलाई विकास प्रक्रियाको केन्द्रमा राख्नुपर्ने आवश्यकता औँल्याए। उनले आधुनिक प्रविधि, डिजिटल नागरिकता तथा सूचना प्रविधिको सही प्रयोगमार्फत युवाहरूले प्रदेश विकासमा महत्वपूर्ण योगदान दिन सक्ने बताए। “डिजिटल युगका अवसरहरूलाई सदुपयोग गर्दै युवाहरूले समाज र राष्ट्र निर्माणमा अग्रसर हुनुपर्छ,” उनले भने।

डिजिटल प्रविधिसँग जोडिन मन्त्री भण्डारीको आग्रह

सम्मेलनको दोस्रो दिन सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णालीका युवाहरू विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेको उल्लेख गर्दै उनीहरूलाई डिजिटल प्रविधि र समृद्धिसँग जोडिन आग्रह गरे।

उनले प्रदेश सरकारले विभिन्न सूचना तथा सेवाहरू डिजिटल माध्यमबाट उपलब्ध गराउँदै आएको जानकारी दिँदै सरकारी वेबसाइट तथा डिजिटल प्लेटफर्मबाट प्राप्त हुने अवसर र सूचनाको प्रभावकारी उपयोग गर्न युवाहरूलाई आग्रह गरे।
“कर्णालीमा यातायात र अन्य पूर्वाधारको पहुँच विस्तार गर्न सकियो भने प्रदेशले विकासमा ठूलो फड्को मार्न सक्छ,” मन्त्री भण्डारीले बताए।

१५ सदस्यीय युवा नागरिक मञ्च गठन

सम्मेलनले कर्णालीका १० वटै जिल्लाको प्रतिनिधित्व सुनिश्चित गर्दै भावना शाहीको संयोजकत्वमा १५ सदस्यीय कर्णाली प्रदेश युवा नागरिक मञ्च गठन गरेको छ।

मञ्चको सह–संयोजकमा सत्या उपाध्याय ९कालिकोट० र सचिवमा राजेश खनाल चयन भएका छन्। समितिमा महिला, दलित, आदिवासी जनजाति, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायको समेत प्रतिनिधित्व सुनिश्चित गरिएको जनाइएको छ।

९ बुँदे घोषणापत्र जारी

सम्मेलनले शिक्षा, रोजगारी, उद्यमशीलता, स्वास्थ्य, जलवायु परिवर्तन, डिजिटल सुरक्षा, सुशासन र विकास निर्माण लगायतका विषय समेटिएको ९ बुँदे साझा घोषणापत्र जारी गरेको छ।
घोषणापत्रमा गुणस्तरीय शिक्षा, अनुसन्धान तथा नवप्रवर्तनमा युवाको पहुँच सुनिश्चित गर्ने, प्राविधिक तथा व्यावसायिक शिक्षालाई रोजगारीसँग जोड्ने, सम्मानजनक रोजगारी सिर्जना गर्ने, युवा उद्यमशीलतालाई प्रवर्द्धन गर्ने, जलवायु परिवर्तन र विपद् व्यवस्थापनमा युवाको नेतृत्व सुनिश्चित गर्ने, मानसिक स्वास्थ्य सेवाको विस्तार गर्ने तथा डिजिटल साक्षरता र साइबर सुरक्षालाई प्राथमिकता दिनुपर्ने माग गरिएको छ।

त्यसैगरी नीति निर्माण तथा निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने, भ्रष्टाचारमुक्त शासन प्रणालीको विकास गर्नुपर्ने र विकास निर्माणका कार्यहरूमा पारदर्शिता तथा नागरिक सहभागिता बढाउनुपर्ने विषय पनि घोषणापत्रमा समावेश गरिएको छ।

कर्णालीको समृद्धिका सह–निर्माता युवा’

सम्मेलनले जारी गरेको प्रतिबद्धतामा कर्णाली प्रदेशका युवाहरूलाई समृद्ध प्रदेश निर्माणका ‘सह–निर्माता’ र ‘सह–यात्री’का रूपमा प्रस्तुत गर्दै घोषणापत्रमा उल्लेखित विषयहरूको कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय सरकार, नागरिक समाज तथा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

व्यापक सहभागिता

सम्मेलनमा गैसस महासंघ नेपालका केन्द्रीय महासचिव देवी खड्का, युवा अभियान नेपालकी महासचिव सुस्मिता यादव, महासंघका केन्द्रीय कोषाध्यक्ष गोविन्द शाही, गैसस महासंघ कर्णाली प्रदेशका अध्यक्ष घनश्याम केसी, कार्यक्रम संयोजक पवित्रा केसी, रोयम नेपाल कर्णाली प्रदेश संयोजक सन्तोष बिक, सोसेक नेपाल दैलेखका संस्थापक तथा कार्यकारी निर्देशक हिरा सिंह थापा, प्लान इन्टरनेसनल नेपालकी मीना राजुरी लगायत विभिन्न नागरिक समाजका प्रतिनिधि, प्रशिक्षक तथा युवाहरूको सहभागिता रहेको थियो।

गैरसरकारी संस्था महासंघ नेपाल, कर्णाली प्रदेशका अध्यक्ष घनश्याम केसीको अध्यक्षतामा सम्पन्न सम्मेलनको पहिलो दिनको सञ्चालन गैसस महासंघ सुर्खेतका सचिव बिन्दुलाल रेग्मीले गरेका थिए भने दोस्रो दिन महासंघका प्रदेश कोषाध्यक्ष चन्द्रप्रकाश शर्मा लगायतका सहजकर्ताले कार्यक्रम सञ्चालन गरेका थिए।

Next Post

दीर्घ बहादुर शाहिको कविता बाल्नु छ भोको अगेनो

२२ जेष्ठ २०८३, शुक्रबार ०७:११
दीर्घ बहादुर शाहिको कविता बाल्नु छ भोको अगेनो बाल्नु छ भोको अगेनो बालुवा उखेर्दै भरोसाको थैलो बाधेर कसको भोक मेट्न पुग्दो हो अगेनो हातपाउ नरोकी खटिन्छन बादलको बोटमा घाम फलाउन फलाउन सकिएन भने घाम पुग्दैन मैलो बस्ती सम्म रश्मी रश्मी पुगेन भने बिक्री हुदैन सुस्ती मुस्कान मैलो सौन्दर्य बोकेर बिक्रीमा […]