दैलेख पेट्रोलियम अन्वेषण ड्रिलिङको नमुना लिएर टोली चीन प्रस्थान

  ।   ३ माघ २०८१, बिहीबार १५:३६

दैलेख । दैलेखको भैरवी गाउँपालिका–१ मा पेट्रोलियम पदार्थको अन्वेषणको ड्रिलिङ सकिएसँगै प्राप्त नमुना लिएर टोली चीन फर्किएको छ । गत वैशाख २८ बाट सुरु गरिएको ड्रिलिङबाट प्राप्त भएको नमुना एक ट्रकमा राखेर चीन फर्किएको खानी तथा भूगर्भ विभागले जानकारी दिएको छ ।

विभागका भूगर्भविद् प्रकाश लुइटेलले चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ कार्य सकिएसँगै त्यसबाट आएका नमुना लिएर चीनको प्राविधिक टोली फर्किएको बताउनुभयो । उहाँले दुई हजार सात सय मिटर ड्रिलिङ भएपछि प्रत्येक दुई÷दुई मिटर गहिराइबाट निस्किएका ढुङ्गा र माटो परीक्षणपश्चात् सङ्कलन गरिएको नमुना लिएर टोली फर्किएको जानकारी दिए ।

उनले भने, “विज्ञले सङ्कलन गरेको दुई÷दुई मिटरको गहिराइबाट प्राप्त भएको विवरणलाई सोर्स रक, रिजर्भ वायर रक र सिल रक गरी तीन वटा थप अध्ययन गर्न सङ्कलन गरिएको नमुना लिएर टोली चीन फर्किएको छ ।” नमुनालाई तातोपानी नाका हुँदै चीन पु¥याउन एउटा ट्रक अन्वेषण स्थल जलजलेबाट हिँडिसकेको छ ।

पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको ड्रिलिङ सकिएपछि केसिङ र सिमेन्टको कामसमेत सकिएको भूगर्भविद् लुइटेलले बताएका छन् । उनले पेट्रोलियम पदार्थको अन्वेषणका लागि चीनबाट आएको ३५ जनाको प्राविधिक टोलीमध्ये १५ जना मात्र जलजलेमा रहेको र अन्य सबै चीन फर्किएको जानकारी दिए ।

नमुनाको विशिष्ट अध्ययन चीनमा हुने र त्यसका लागि तीन महिनाको समयपछि मात्र उत्खननका लागि आर्थिक विश्लेषण, भण्डारण तथा प्रशोधनको काम अगाडि बढाउन सकिने उनको भनाई छ । ड्रिलिङका लागि आवश्यक उपकरणमध्ये पुनः प्रयोग हुने उपकरणबाहेक अन्य उपकरणलाई समेत पठाउने तयारी गरिएको छ । ड्रिलिङबाट सङ्कलन गरिएको नमुनाबाट प्राकृतिक ग्यासको सम्भावना बढी रहेको आयोजनाले जनाएको छ ।

गत वैशाख २८ बाट सुरु गरिएको ड्रिलिङ असोज मसान्तसम्म सक्ने पेट्रोलियम अन्वेषण परियोजनाको लक्ष्य राखिएको भए पनि जमिनमुनि कडा चट्टान भेटिएका कारण पुससम्म लम्बिएको थियो । ड्रिलिङका लागि दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । दैलेखको शिरस्थान, नाभिस्थान र पादुकास्थानमा तीन वर्षभित्र पेट्रोलियम पदार्थको अनुसन्धान सक्ने गरी चीन सरकारसँग सन् २०१९, फेबु्रअरी २८ मा सम्झौता भएको थियो । सुरुवातमा तीन वर्षभित्र तीन चरणमा काम सक्ने गरी सम्झौता भए पनि कोरोना महामारीका कारण सम्झौता अनुसार काम हुन सकेको थिएन ।

पहिलो चरणमा चिनियाँ प्राविधिकले दैलेखको स्थलगत अध्ययन गरेर पेट्रोलियम पदार्थ हुन सक्ने सम्भावित ठाउँ पत्ता लगाएका थिए । त्यसैका आधारमा ड्रिलिङका लागि रिङहाउस निर्माण गरी काम सुरु भएको थियो । ड्रिलिङ गरेपछि कति पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लगाउन सकिने भन्दै भूगर्भविद् लुइटेलले खानी भेटिएपछि त्यसको आर्थिक विश्लेषण हुने र त्यसपछि मात्र उत्पादनका आवश्यक काम अगाडि बढ्ने जानकारी दिए ।

चीन सरकारको दुई अर्ब ५० करोड रुपियाँ अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण भइरहेको हो । अन्वेषण सफल भए देशको आर्थिक अवस्था सुधार हुनुका साथै ठुलो सङ्ख्यामा रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन अन्तर्गत पहिलो चरणको काम चिनियाँ प्राविधिक टोलीले पहिलो चरण अन्तर्गतको सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जियोकेमिकल स्याम्पलिङ सर्भे गरी चार वटा सर्भेका काम तोकिएकै समयमा सम्पन्न गरिसकेको थियो ।

 

Next Post

कर्णालीका क्षेत्रमा वर्षा र हिमपातले चिसो अत्याधिक बढ्यो

३ माघ २०८१, बिहीबार १५:३६
कालिकोट । कालिकोट लगाएतका क्षेत्रमा वर्षासँगै लेकाली भेकहरुमा हिमपात भएको छ । विहबार विहान देखि कालीकोट जिल्लामा भएको वर्षासँगै लेकाली भेकमा हिमपातले जनजीवन प्रभावित समेत भएको छ । जिल्लाका लेकाली भेकहरुमा हिमपात र वर्षाले चिसो अत्याधिक रुपमा बढेको छ । चिसोका कारण स्थानीयबासी घर बाहिर निस्कन सकेका छैनन् । वर्षासँगै […]