अपडेट

निर्माण क्षेत्र संकटमा, मूल्यवृद्धि र अभावले काम ठप्प हुने खतरा

  ।   १३ बैशाख २०८३, आईतवार १६:५९

सुर्खेत । कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघ ले इन्धन तथा निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धि र अभावका कारण निर्माण क्षेत्र गम्भीर संकटमा परेको जनाएको छ। महासंघका महासचिव मानव बमले जारी गरेको प्रेस विज्ञप्तिमा पछिल्लो समय डिजेल, पेट्रोल, मट्टीतेल लगायतका इन्धन तथा सिमेन्ट, डण्डी जस्ता निर्माण सामग्रीको मूल्य निरन्तर बढ्दै जाँदा निर्माण उद्योग नै ठप्प हुने अवस्थामा पुगेको उल्लेख गरिएको छ।

महासंघका अनुसार बजारमा आवश्यक सामग्रीको अभाव र अस्वाभाविक मूल्यवृद्धिका कारण विकास निर्माणका कार्यहरू प्रभावित भइरहेका छन्। यसले राष्ट्रिय गौरवका आयोजनादेखि साना ठूला पूर्वाधार योजनासम्मको प्रगति अवरुद्ध भएको छ।

विज्ञप्तिमा भनिएको छ कि बारम्बार सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि समस्या समाधानतर्फ प्रभावकारी कदम चालिएको छैन। सरकारले केवल मौखिक आश्वासन मात्र दिएको तर व्यवहारिक रूपमा मूल्य नियन्त्रण र आपूर्ति व्यवस्थापनमा ठोस पहल नगरेको आरोप महासंघले लगाएको छ।

निर्माण व्यवसायीहरूले ठेक्का सम्झौता गर्दा तय भएको मूल्यमा अहिलेको महँगीले काम गर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै मूल्य समायोजनको स्पष्ट व्यवस्था गर्न माग गरेका छन्। साथै, निर्माण सामग्रीको सहज आपूर्ति सुनिश्चित गर्न र व्यवसायीलाई राहत दिन तत्काल कदम चाल्न सरकारसँग आग्रह गरिएको छ।
महासंघले चेतावनी दिँदै भनेको छ—यदि समयमै समस्या समाधान नभए निर्माण उद्योग पूर्ण रूपमा ठप्प हुन सक्नेछ, जसले समग्र आर्थिक गतिविधिमा गम्भीर असर पार्नेछ।