सुर्खेत । कर्णाली प्रदेशको सांगीतिक विकासमा नयाँ अध्याय थप्दै सुर्खेतमा ‘गुरास म्युजिक प्रोडक्सन’ सञ्चालनमा आएको छ। नयाँ वर्ष २०८३ को अवसर पारेर उद्घाटन गरिएको यस संस्थाले विशेष गरी कर्णालीका स्थानीय कलाकारलाई लक्षित गर्दै आफ्नो सेवा सुरु गरेको हो।
स्थानीय कला, संस्कृति र मौलिक संगीतलाई आधुनिक प्रविधिसँग जोड्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यसहित स्थापना गरिएको प्रोडक्सनले छोटो समयमै कलाकारहरूको ध्यान तान्न सफल भएको छ। अध्यक्ष सम्झना अधिकारले कर्णालीमा प्रतिभाको कमी नभए पनि उचित अवसर नपाउँदा धेरै कलाकार पछि परेको बताउनुभयो। उहाँका अनुसार अब त्यस्ता कलाकारहरूले आफ्नै क्षेत्रमा बसेर गुणस्तरीय रेकर्डिङ तथा प्रस्तुति गर्ने वातावरण पाउनेछन्।
प्रोडक्सन स्थापना भएसँगै विभिन्न विधाका कलाकारहरूले यहाँ गीत रेकर्ड गराउन थालेका छन्। यसले कर्णालीमै आधुनिक स्टुडियो सुविधाको आवश्यकता पूर्ति हुँदै गएको संकेत गर्दछ। कलाकारहरूका अनुसार अहिलेको प्रविधि र उपकरणको प्रयोगले राजधानी स्तरकै सेवा सुर्खेतमै उपलब्ध हुन थालेको छ।
यस प्रोडक्सनले देउडा, झ्याउरे लगायतका लोकभाकालाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्याउने योजनासमेत अघि सारेको छ। साथै, मौलिक गीत–संगीतलाई डिजिटल माध्यमबाट विश्वसामु चिनाउने लक्ष्य लिइएको छ।

सरोकारवाला निकायको सहयोग र स्थानीय समुदायको साथ पाएमा गुरास म्युजिक प्रोडक्सनले कर्णालीलाई नेपाली संगीतको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसले सांगीतिक क्षेत्रसँगै रोजगारी, पर्यटन र सांस्कृतिक पहिचानलाई पनि मजबुत बनाउने विश्वास गरिएको छ।






