भैरबस्थान चोकमा भीषण ठक्करः मोटरसाइकल चालक गम्भीर घाइते

  ।   ३१ श्रावण २०८२, शनिबार १७:५७

सुर्खेत। वीरेन्द्रनगरको भैरबस्थान चोकस्थित शहीदपार्क जाने बाटोमा भएको सवारी दुर्घटनामा एक मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।प्रहरीका अनुसार भे ६ प ५१७० नम्बरको मोटरसाइकल तीव्र गतिमा शहीदपार्कतर्फ जाँदै थियो। सोही क्रममा विपरीत दिशाबाट आइरहेको फोर्स गाडी अचानक ठोक्किँदा दुर्घटना भएको हो। ठक्कर यति शक्तिशाली थियो कि मोटरसाइकल सडकमै क्षतिग्रस्त भएको बताइएको छ।

ठक्करपछि गम्भीर चोटपटक व्यहोरेका मोटरसाइकल चालकलाई स्थानीयबासी र प्रहरीको सहयोगमा तत्काल उद्धार गरी प्रदेश अस्पताल लगिएको छ। अस्पताल स्रोतका अनुसार उनको अवस्था चिन्ताजनक रहेको र चिकित्सकको निगरानीमा उपचार भइरहेको छ। दुर्घटना भएको थाहा पाएलगत्तै आसपासका बासिन्दा घटनास्थलमा पुगेका थिए। भीड बढेसँगै केहीबेर सडकमा आवागमन समेत प्रभावित भएको थियो। उद्धार र प्रारम्भिक अनुसन्धानपछि भने बाटो सुचारु गरिएको छ।

यसबीच प्रहरीले दुर्घटनामा संलग्न फोर्स गाडीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ। चालकलाई नियन्त्रणमा लिइएको वा नलिइएको विषयमा भने प्रहरीले आधिकारिक जानकारी दिएको छैन। स्थानीय बासिन्दाले सो क्षेत्रमा बारम्बार दुर्घटना हुने गरेको भन्दै सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा कडाइ गर्न माग गरेका छन्। उनीहरूले चोक नजिकै सवारी साधनले तीव्र गति लिने गरेको र नियम विपरीत चल्ने बानीका कारण जोखिम बढेको बताएका छन्।

प्रहरीले भने यात्रु र चालकलाई सधैं सर्तक रहन आग्रह गर्दै सडक दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Next Post

पेट्रोल महँगियो, डिजेल मट्टितेल सस्तो

३१ श्रावण २०८२, शनिबार १७:५७
  सुर्खेत। नेपाल आयल निगमले शनिबारदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको खुद्रा मूल्य समायोजन गरेको छ। नयाँ मूल्यसूचीअनुसार पेट्रोलको भाउ बढेको छ भने डिजेल र मट्टितेलमा केही राहत दिइएको छ। निगमका अनुसार भारतको इन्डियन आयल कर्पोरेशन (IOC) बाट प्राप्त नवीनतम मूल्य सूचीका आधारमा पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाइएको हो। यससँगै […]